फेकोफनले भ्रम फैलाएपछि डिभिजन वन कार्यालयको प्रेस विज्ञप्ति
कपिलवस्तु –
डिभिजन वन कार्यालय, कपिलवस्तुले हालसालै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा फैलाइएको भ्रमपूर्ण सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै स्पष्टीकरण सहित प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) सम्बन्धित स्थानीय प्रतिनिधिबाट सार्वजनिक रूपमा वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी तथ्यहीन टिप्पणी र आरोपहरू लगाइएपछि कार्यालयले वन ऐन, नियमावली र कार्यविधिअनुसार काम भइरहेको जानकारी दिएको हो।
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत ईश्वरी पौडेलका अनुसार, “वन ऐन २०७६, वन नियमावली २०७९ तथा सम्बन्धित कार्यविधिअनुसार मात्रै सामुदायिक वन उपभोक्ता समिति गठन र स्वीकृति दिइन्छ। कुनै पनि समूह वा व्यक्ति विशेषलाई पक्षपात गरिएको छैन। सामाजिक सञ्जाल, केही समाचार माध्यममा प्रचार तथ्यविहीन र भ्रामक रहेको जनाएको छ ।प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार कुनै पनि सामुदायिक वन उपभोक्ता समूह गठन वा स्वीकृतिका लागि समूह स्वयंको निर्णय, खुला सदस्यता आव्हान, आर्थिक/प्राविधिक विवरण, कार्य योजना र पारदर्शी प्रक्रिया अनिवार्य गरिन्छ। कार्यालयले कुनै पनि समूह वा संस्थालाई व्यक्तिगत/राजनीतिक स्वार्थ का आधारमा समर्थन नगरेको जनाएको छ।
वैज्ञानिक वन व्यवस्थापनको विरोध गर्दै आएको फेकोफनले वैज्ञानिक वन महासङ्घको स्थापना दिवस मनाउने कार्यक्रमलाई लक्षित गरी विवाद सिर्जना गरिएको थियो । अघिल्लो पटक अर्जुन बहादुर केसी प्रदेश वन मन्त्री नियुक्त हुँदा गरिएको स्वागत तथा सम्मान कार्यक्रमलाई समेत विवादित बनाए पछि पूर्व मन्त्री केसी कार्यक्रम स्थलमा पुगेर निस्किएका थिए ।
