गुण्डागर्दीमा संलग्न गुरुङ ठमेलको दोहोरी साँझबाट पक्राउ
काठमाडौं-
गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए ।२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए ।
पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।
कुमार घैंटे समूहका सदस्य
प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।उनलाई हत्कडीसहित ठमेल घुमाएका काठमाडौं प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।
उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।