Connect with us
Kapilvast Forest

उनी दुनियाँलाई जुम्ला देखाउन गए, दुनियाँले उनलाई हेरे

२०८२, १७ श्रावण शुक्रबारमा प्रकाशित

‘कोइ सुन्दैन, कोइ सुन्दैन कान्नाली रोयाको आवाज’ यो विरही भाका सुनिरहँदा हृदयेन्द्र शाह अरु शान्त र सौम्य देखिए । उसो त उनी कर्णाली रोएको होइन, हाँसेको हेर्न गएका थिए । दुनियाँलाई ‘लुकेको स्वर्ग’ देखाउन गएका थिए । दुनियाँले कर्णाली होइन बरु उनैलाई हेरे । एकदमै उत्सुकताले ।

यसअघि यति नजिकबाट हृदयेन्द्रले समाजसँग साक्षात्कार गरेको देखिएको थिएन । उनको बोलीचाली कस्तो छ ? हिँडाइ-हँसाइ कस्तो छ ? लवाइखुवाइ कस्तो छ ? धेरैलाई थाहा थिएन । थाहा नहुनु नै एउटा लुकेको सौन्दर्य थियो । जसरी लुकेको छ कर्णालीको भूगर्भमा प्रकृतिका मनोरम छटाहरू । राजसी विरासत लिएर जन्मिएका, दरबारको सेरोफेरोमा खाइखेली हुर्किएका, विलासी जीवन भोगचलन गरिरहेका उनी नेपाली समाजकै यस्ता दुर्लभ पात्र हुन्, जो आफूले नचाहेरै चर्चाको उत्कर्षमा रहने गर्छ । उनी को हुन् ? धेरैलाई थाहा छ । उनी कस्ता छन् ? धेरैलाई थाहै छैन ।

पञ्चकली बुढा सोध्छिन्, ‘तपाईंको नाम के हो ?’

उनी मुस्कुराउँदै भन्छन्, ‘हृदेयन्द्र वीरविक्रम शाह ।’

‘नाम चाहिँ सुनेको हो, एकदमै खुसी लाग्यो भेट्न पाएर । आजै आउनुभयो ?’ पञ्चकलीको प्रश्न ।

‘आजै आएको’ हृदयेन्द्रको संक्षिप्त जवाफ ।

पञ्चकली नव आगन्तुकसँग वातचित गर्न उत्सुक छिन् । उनी सोध्छिन्, ‘प्लेनमा आउनुभएको हो ? प्लेनमा आउँदा हल्लाएन र ?’

‘एकदम हल्लायो, लास्टतिर’ हृदयेन्द्र उही मुस्कानका साथ जवाफ फर्काउँछन् ।

त्यसपछि पञ्चकलीले उनलाई गुम्बाको त्यो अग्लाइबाट कर्णालीको सेरोफेरो औंल्याउँदै भन्छिन्,

‘त्यो चाहिँ हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपचारका लागि धेरै ठाउँबाट त्यही आउँछन् । माथि डाँडामा टावर जस्तो देखिन्छ नि, त्यो नेटको हो । त्यहाँ धर्म संस्कार अनुसार मेला पनि लाग्छ । भदौमा । उता डाँडामा हिँउ परेको हिमाल देखिन्छ नि, त्यो कान्जिरोवा ।’

लुकेको स्वर्गको खोजी । जुम्लाको यात्रा हृदयेन्द्रसँग ।यही शीर्षकको भ्लगमार्फत हृदयेन्द्रले पहिलो पटक समाजसँग अत्यन्तै नजिकबाट साक्षात्कार गरेका छन् । उनी जुम्लाको सौन्दर्य खोज्न निस्किएका हुन् वा आफैंलाई खोज्न ?

किनभने पारिवारिक घेराबाट बाहिर निस्किएर मनमौजी घुलमिल गर्न उनलाई त्यति सजिलो छैन, जति उनकै छिमलका अरु केटाकेटीलाई छ । उनलाई धेरै कुराले रोक्छ । चाहे त्यो खानदानी मर्यादाले होस् वा त सुरक्षाको हिसाबले ।

तर, यसपालि त्यस्तो भएन । भौगोलिक दूरीले लगभग ८०० किलोमिटर टाढाको जुम्ला पुगे । उकाली ओराली हिँडे । कफी दोकानमा पसे, गुम्बामा घुमे, कर्णालीको तिरमा सुस्ताए । सिँञ्जा भ्यालीको कथा सुने, मार्सी चामलको मोल सुने, रैथाने स्याउको बखान सुने, रारा तालको चर्चा सुने । अनि भेटिएका मान्छेहरुसँग भलाकुसारी गरे । मुसुमुसु हाँस्दै । शान्त, सौम्य शैलीमा ।

त्यहाँ भेटिएकाले उनलाई हार्दिकतासाथ स्वागत गरे । मीठो वातचित गरे । कर्णालीको मुख्य केन्द्रहरु घुमाए । यसो भन्दै, ‘हेर्नुस् त, यो हजुरको जिजुबाजेको पालामा बनेको ।’ त्यसबेला उनीहरु कर्णाली प्राविधिक शिक्षालयको प्राङ्गणमा थिए ।

‘यहाँ कति जना स्टुडेन्ट छन् ?’ हृदयेन्द्रले चासो राखे ।

युवाले अनुमान गरे, ‘सायद ८ सय जना होलान ।’ उनले के पनि सुनाए भने, त्यहाँ पढेर थुप्रैले अहिले सरकारी जागिर खाइरहेका छन् ।

हृदयेन्द्र केहीबेर त्यहाँको संरचना हेर्दै रमाए । अनि भने, ‘अहिले त घुमेर सकिने रहेनछ, पछि फेरि आउला ।’

त्यसअघि उनी सानो कफी एवं बेकरी दोकानमा छिरेका थिए । अनि दूध कफी मगाएका थिए । चिज केक चाखेका थिए । त्यहाँ सजाइएका चित्रहरू रुचिपूर्वक हेरेका थिए । त्यसक्षण उनको आँखा जापानी एनिमेमा टक्क अडिएका थिए । उनले कफी सप चलाएर बसेका पौरखी युवालाई सोधेका थिए, ‘यो एनिमेको नि तपाईंले राखेको ? म नि हेर्ने गर्छु । यो वान पिसको रहेछ ।’

उनी जुन खानदानमा जन्मिए–हुर्किए, त्यहाँ राजतन्त्रको ह्याङओभर कायमै छ । त्यसैले बोलीचाली र शिष्टचार शैली अलि ‘विशिष्ट’ हुने नै भयो । यद्यपि उनमा त्यसको अंश परेको देखिएन । उनी साधरण थिए, साधरण वातचित गर्थे, साधारण व्यवहार देखाउथे । त्यही साधरणपन हो, धेरैलाई मन परेको ।

नेता–मन्त्रीका छोरा–नाती र भाई–भतिजोले उत्पात मच्याइरहेको पृष्टभूमिमा उनी जति सहज ढंगले पदार्पण भए, त्यसले थुप्रैको मन जित्यो । के उनी यसरी नै जित्नका लागि निस्किएका थिए ?

थाहा छैन, कर्णालीको चिसो पानीमा खुट्टा चोपल्दै, बगैंचाको ओखर चाख्दै, गोरेटोमा उकाली ओराली गर्दै उनी कुन रहरले त्यहाँ पुगे ?

जो जन्मजात चर्चामा हुन्छ, जसको नामले बेलाबखत तरंग पैदा गर्छ उसले यो समाजलाई कस्तो देख्छ होला ? कसरी हेर्छ होला ? कस्तो सोच्छ होला ?

कोही भन्छन्, हृदयेन्द्रलाई राजा बनाउनुपर्छ । कोही भन्छन्, हृदयेन्द्रलाई हिरो बनाउनुपर्छ । आखिर उनीचाहिँ के बन्न चाहन्छन् होला ?

पञ्चकली बुढा सोध्छिन्, ‘हाम्रो यो नेपाल अब कहिले समृद्ध हुन्छ होला ?’

‘मान्छेले राम्रो काम गर्‍यो भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला । अलिकित हामी पनि लाग्नुपर्‍यो, आँट गर्नुपर्‍यो । हुन्छ होला ।’

जुम्ला देखाउन गएका उनले सबैभन्दा बढी त त्यहाँ आफैंलाई देखाए । उनलाई हेरिरहँदा लाग्यो, उनी राजाभन्दा बढी हिरो देखिन्छन् । यस्तो हिरो, जसलाई समाजले हेर्न र सुन्न चाहन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu