Connect with us
Kapilvast Forest

नेपाल–खनाल आरोप प्रत्यारोप : विस्फोटको सङ्घारमा एकीकृत समाजवादी

२०८२, १८ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ-

नेकपा (एकीकृत समाजवादी) पार्टीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच चलेको आरोप प्रत्यारोपले पार्टीको भविष्यमाथि नै प्रश्न उठाएको छ । यसले पार्टीभित्र लामो समयदेखि गुम्सिएको वैचारिक द्वन्द्व, साङ्गठनिक गतिहीनताप्रतिको निराशा र नेतृत्वप्रतिको अविश्वासलाई विस्फोटको सङ्घारमा ल्याइपुर्‍याएको छ ।

एक अन्तरवार्तामा खनालले अध्यक्ष नेपालको राजीनामा माग्नु र त्यसको जवाफमा नेपालले खनाललाई पार्टीमा रहने नैतिकता सक्किएको प्रतिक्रिया दिनुले पार्टीमा गम्भीर आत्मसमीक्षा र पुनर्गठन अनिवार्य देखिएको सङ्केत गर्छ । खनालको विश्लेषणको सबैभन्दा धारिलो प्रहार पार्टी स्थापनाको वैधानिकतामाथि नै छ । उनले विद्रोहलाई ‘दक्षिणपन्थी अवसरवाद’ विरुद्धको लडाइँ भनिए पनि त्यसलाई सैद्धान्तिक र राजनीतिक रूपमा पुष्टि गर्न नेतृत्व पूर्णरूपमा असफल भएको तर्क अघि सारेका छन् ।

उनको ‘पुष्टि नभएको विद्रोहको अर्थ रहेन’ भन्ने अभिव्यक्तिले पार्टीको जन्मलाई एक वैचारिक आवश्यकताभन्दा पनि तत्कालीन सत्ता–सङ्घर्ष र व्यक्तिगत टकरावको प्रतिक्रियाको रूपमा चित्रित गर्दछ । यसले हजारौँ कार्यकर्ताको त्याग र बलिदानमाथि नै प्रश्न खडा गर्छ । जसले एक स्पष्ट वैचारिक दिशाको अपेक्षामा विद्रोहलाई साथ दिएका थिए । जब विद्रोहको जग नै कमजोर र अस्पष्ट हुन्छ तब त्यसबाट बनेको संरचनाको भविष्य पनि अनिश्चित हुनु स्वाभाविक हो । खनालले यही वैचारिक खोक्रोपनालाई पार्टीको मूल समस्याको रूपमा औँल्याएका छन् ।

नेतृत्वको असक्षमता

खनालले पार्टीको आन्तरिक जीवन र साङ्गठनिक अवस्थाको निराशाजनक चित्र प्रस्तुत गरेका छन् । महाधिवेशन भएको १३ महिनासम्म पनि त्यसका निर्णयहरू कार्यकर्तासम्म नपुग्नु, अन्तरपार्टी निर्देशन (अपानि) जस्ता न्यूनतम साङ्गठनिक गतिविधि ठप्प हुनु र पार्टीको मुखपत्रसमेत बन्द हुनुले एकीकृत समाजवादी एक जीवन्त राजनीतिक शक्तिभन्दा पनि एक निष्क्रिय र दिशाहीन समूहमा परिणत भएको उनको आरोप छ ।

यो अवस्थाले पार्टीभित्र चरम अन्योल, निराशा र पलायनको स्थिति सिर्जना गरेको छ । नेतृत्वले कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने, राजनीतिक रूपमा परिचालन गर्ने र साङ्गठनिक रूपमा एकताबद्ध गर्ने आफ्नो आधारभूत दायित्व पूरा गर्न नसकेको उनको निष्कर्ष छ । यो ‘साङ्गठनिक पक्षाघात’ले पार्टीलाई जनताबाट मात्र होइन, आफ्नै कार्यकर्ताबाट समेत टाढा बनाउँदै लगेको उनको विश्लेषण छ ।

पार्टी हाँक्न नसकेपछि पदमा बस्ने अधिकार छैन

खनालले अध्यक्ष माधवकुमार नेपालको प्रत्यक्ष राजीनामा माग गर्दै आएका छन् ।  पार्टीको वैचारिक र साङ्गठनिक दूर्दशाको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि थोपर्दै उनलाई पदबाट हट्न सार्वजनिक रूपमा चुनौती दिएका छन् । ‘तपाईँले यो पार्टी हाँक्न सक्नुभएन, पार्टी हाँक्ने योग्यता र क्षमता पनि रहेनछ’ भन्ने उनको कठोर अभिव्यक्तिले दुई नेताबिचको सम्बन्ध व्यक्तिगत टकरावबाट शक्ति संघर्षको चरणमा प्रवेश गरेको देखाउँछ ।

यो केवल असन्तुष्टि होइन, यो नेतृत्व परिवर्तनका लागि गरिएको खुला आह्वान हो । यसले पार्टीको आगामी केन्द्रीय कमिटी वा कुनैपनि तहको बैठकमा ठुलो राजनीतिक भुईँचालो ल्याउने निश्चित छ । अध्यक्ष नेपालमाथि पद त्यागका लागि चौतर्फी दबाब सिर्जना गरेको छ ।

वैचारिक द्वन्द्व: ‘वैज्ञानिक समाजवाद र बहुदलीय जनवादको लडाइँ’

खनालले आफू र नेपालबीचको मतभेदलाई ‘वैज्ञानिक समाजवाद’ र ‘जनताको बहुदलीय जनवाद’ (जबज) बिचको वैचारिक लडाईंको रूपमा प्रस्तुत गरेका छन् । उनको तर्कअनुसार, ०६२/६३ पछि जबजको औचित्य समाप्त भइसकेको अवस्थामा पनि अध्यक्ष नेपालले पार्टीको विधान र प्रतिवेदनमा जबजलाई नै स्थापित गर्न खोज्नु वैचारिक प्रतिगमन हो । यो मतभेदले एकीकृत समाजवादीभित्र एउटा साझा र स्पष्ट मार्गदर्शक सिद्धान्तको अभाव रहेको पुष्टि गर्छ ।

जबज एमालेको पहिचानसँग जोडिएको छ र त्यसलाई नै बोकिरहँदा एकीकृत समाजवादीको स्वतन्त्र र मौलिक पहिचान कसरी स्थापित हुन्छ भन्ने प्रश्न खडा हुन्छ । खनालले यही वैचारिक अस्पष्टताका कारण पार्टीले आफ्नो छुट्टै पहिचान बनाउन नसकेको र कार्यकर्तालाई आकर्षित गर्न नसकेकोतर्फ सङ्केत गरेका छन् ।

नैतिकताको संकटः ‘भ्रष्टाचारको मुद्दा र नेतृत्वको जवाफदेहिता’

खनालले अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचारको मुद्दालाई एक रणनीतिक र नैतिक अस्त्रको रूपमा प्रयोग गरेका छन् । उनले सिधै दोषी नभनीकन ‘राजनीतिक नेतृत्वमा नैतिकता अभिन्न हुने’ र ‘गम्भीर मुद्दा लागेपछि सांसद पद निलम्बन हुने नियम पार्टी नेतृत्वमा लागू हुन्छ कि हुन्न?’ भन्दै नेपाललाई सार्वजनिक नैतिकताको कठघरामा उभ्याइदिएका छन् ।

यो एउटा राजनीतिक चाल हो, जसले नेपालमाथि पदमा रहिरहन गम्भीर नैतिक दबाब सिर्जना गरेको छ । यसले पार्टीलाई भ्रष्टाचारजस्तो संवेदनशील मुद्दामा कमजोर देखाउने र जनतामाझ पार्टीको छवि थप धमिल्याउने खतरा बढाएको छ । खनालले यो मुद्दामा पार्टीभित्र औपचारिक छलफल नभएको भन्दै नेतृत्वको अपारदर्शिता र गतिहीनतामाथि पनि एकैसाथ प्रहार गरेका छन् ।

वामपन्थी एकताको बहस

खनालले विभाजित वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफूलाई एक वृहत वाम एकताको पक्षधरको रूपमा प्रस्तुत गरेका छन् । तर उनले नेकपा (एमाले) नेतृत्वमाथि ‘दमनकारी चिन्तन’ रहेको र पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि भएको व्यवहार त्यसैको उदाहरण भएको भन्दै एमालेसँग तत्काल विलयको सम्भावनालाई नकारेका छन् ।

उनको जोड ‘कार्यगत एकता’मा छ । जसले उनी वामपन्थी आन्दोलनमा आफ्नो स्वतन्त्र हैसियत र भुमिका खोजिरहेको देखाउँछ । यो अभिव्यक्तिले उनी एमाले वा अन्य कुनै दलमा समाहित हुनुभन्दा पनि वामपन्थी ध्रुविकरणमा आफूलाई एक महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहन्छन् भन्ने सङ्केत गर्छ । जसले भविष्यको वाम राजनीतिको समीकरणमा नयाँ सम्भावनाहरू खोलेको छ ।

पार्टीको भविष्यमाथि कालो बादल

खनालले अन्तिममा एउटा चेतावनी पनि दिएका छन् । ‘पार्टीहरू पनि जन्मने र मर्ने गर्छन्’ भन्ने भनाइ उद्धृत गर्दै वर्तमान नेतृत्व र कार्यशैली कायम रहे एकीकृत समाजवादीको भविष्य अन्धकार रहेको उनको स्पष्ट निष्कर्ष छ । उनले पार्टी र नेतृत्व दुवैको पुनर्गठन अनिवार्य भएको बताएका छन् । यो केवल आलोचना होइन । यो पार्टीको अस्तित्वमाथि नै देखिएको खतराको घण्टी हो ।

यसले पार्टीका इमानदार कार्यकर्तालाई कि त पार्टीभित्रै विद्रोह गरेर नेतृत्व परिवर्तन गर्न, कि त वैकल्पिक बाटो रोज्न प्रेरित गर्नसक्छ । उनको यो भनाइले पुष्टि गर्छ की, एकीकृत समाजवादी अब एक ऐतिहासिक क्षणमा आइपुगेको छ । जहाँबाट लिइने निर्णयले यसको अस्तित्व रहने वा नरहने कुराको फैसला गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu