Connect with us
Kapilvast Forest

सहसचिव भट्टराईको डायरीमै भेटियो भिजिट भिसामा करोडौँ लेनदेनको हिसाब

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-

भिजिट भिसाको सेटिङ चलाएका सहसचिव तीर्थराज भट्टराईको डायरीमा करोडौँ लेनदेनको प्रमाण भेटिएको छ । उनले आफ्नो डायरीमै भिजिट भिसासम्बन्धी लेनदेनको सबै विवरण राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा उनले डायरीमा लेखेअनुसारको कारोबार पुष्टि भएको छ । उनीसँग बरामद भएको डायरीमा लेखिएको आर्थिक लेनदेनको हिसाब, कारोबार भएका व्यक्तिहरूसँगको सोधपुछ र विभिन्न व्यक्तिसँग मोबाइलमा गरेको कुराकानीलाई आधार बनाएर उनले भिजिट भिसामा ठुला सञ्जाल चलाएको पुष्टि भएको स्रोत बताउँछ ।

भट्टराईलाई गत ७ जेठमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । उनले भिजिट भिसामा दिनमै ५० लाखभन्दा धेरै असुली गरिरहेको सूचनाका आधारमा अख्तियारले पैसासहित पक्राउ गर्ने तयारीस्वरूप निगरानी गरिरहेका वेला गृह मन्त्रालयले सूचना पाएर सरुवा गरेको थियो । सरुवा गरेकै दिन आयोगले उनलाई कार्यालयबाटै नियन्त्रण लिएको थियो ।

साढे दुई महिनामा आयोगले पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अनुसन्धानका क्रममा उनले भिजिट भिसामा ठुलो रकम लेनदेन गरेको प्रमाण जुटेको छ । पहिलो चरणको अनुसन्धान पूरा गरी आयोगले उनी र केही सहयोगीविरुद्ध मुद्दा दायरको तयारी गरेको छ । दोस्रो चरणमा अध्यागनका थप कर्मचारी र उनीसँग लेनदेनमा जोडिएका थप उच्चपदस्थमाथि छानबिन गर्ने आयोगको तयारी छ । उनका तीनवटा मोबाइल र ल्यापटपसमेत बरामद गरी आयोगले त्यसको परीक्षण गराएर विस्तृत अनुसन्धान गरेको थियो ।

आयोगले उनी पक्राउ परेकै दिन ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई पक्राउ गरेको थियो । भट्टराईले आफैँ पैसा नलिई सुवेदी र पौडेलमार्फत लिएर परिचालन गर्दै आएका थिए । त्यो पैसा क–कसलाई दिइएको थियो भन्नेसमेत उनले डायरीमा लेखेर राखेकाले अनुसन्धानमा सजिलो भएको छ । यद्यपि, बयानका क्रममा भट्टराईले त्यो कुरा ‘त्यत्तिकै लेखेको’ भनेर इन्कारी गरेका छन् । आयोगले हाजिरी जमानीमा राखेर उनीमाथि छानबिन गर्दै आएको छ ।

भट्टराईसँग प्रत्यक्ष मिलेर भिजिट भिसाको सेटिङ गर्ने फेमिली होलिडेजका दीपक भण्डारीमाथि दुई साताअघि पक्राउ गरी आयोगले अनुसन्धान गरिरहेको छ । ग्रिनलाइन होलिडेजका सञ्चालक खड्का र फेमिली होलिडेजका भण्डारीसँग मिलेर उनले भिजिट भिसाको सेटिङ गर्दै आएका थिए । मोबाइलमा उनीहरूले भिजिट भिसामा जानेहरूको सूची पठाउने र त्यहीअनुसार भट्टराईले आफ्ना कर्मचारीलाई त्यो सूची दिएर प्रस्थान अनुमति दिन लगाउँथे । खाडी जानेसँग करिब ५० हजार र युरोप जानेसँग प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको सेटिङ हुने गरेको थियो । ठुलो सेटिङ भने महिलालाई युएई पठाउनमा हुने गरेको खुलेको छ ।

यो सेटिङमा गृह मन्त्रालयसमेत मुछिएको छ । विवादास्पद पृष्ठभूमि भएका भट्टराईलाई गृहमन्त्री रमेश लेखकले अध्यागमन प्रमुखको जिम्मा दिएका थिए । भट्टराईले सेटिङ चलाएको विषयमा छानबिन गर्न भनेर अख्तियारले बारम्बार पत्र लेख्दा पनि मन्त्रालयले चासो नदिनु, अध्यागमनमा चलखेलका आधारमा विगतमा समेत बसेका कर्मचारीलाई फेरि पठाउनु, मानव तस्करी रोक्न विमानस्थलमा प्रहरी खटाइएकोमा एकै दिनमै फिर्ता गर्नुले पनि यसमा गृहमन्त्री लेखकको समेत मिलेमतोको आरोप लाग्दै आएको छ । विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई मन्त्री लेखककै आफ्नै सचिवालयमा राखिएको थियो । अध्यागमनमा सरुवा गर्ने कर्मचारीको सूची उनले समेत बनाउने गरेका थिए । त्यस्तै, अख्तियारले सहसचिव भट्टराईमाथि निगरानी बढाएपछि अकस्मात् उनलाई मन्त्रालयले सरुवा गर्नुले पनि यसमा गृह प्रशासनमाथि गम्भीर प्रश्न उठेका छन् । यस विषयमा विशेष छानबिनको माग गरी प्रतिपक्षी दलहरूले साढे दुई महिनादेखि संसद् बहिष्कारसमेत गर्दै आएका छन् । अख्तियारले पनि यसमा मुछिएका उच्चपदस्थमाथि दोस्रो चरणमा मात्र अनुसन्धान गर्ने भएको छ ।

गृहको ‘कनेक्सन’बारे दोस्रो चरणमा अनुसन्धान हुने 
भिजिट भिसामा भएको संगठित असुलीमा गृह मन्त्रालयका अधिकारीको संलग्नतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो चरणमा अनुसन्धान गर्ने भएको छ । पहिलो चरणमा आयोगले तीर्थराज भट्टराईमाथि मात्र अनुसन्धान गरेको छ । गिरोहमा संलग्न अध्यागमनका थप कर्मचारी र यसमा अध्यागमनको भूमिकाबारे छुट्टै अनुसन्धान हुन लागेको हो ।

स्रोतका अनुसार सहसचिव भट्टराईको मोबाइलबाट यसमा संलग्न अन्य धेरै व्यक्तिको संलग्नता देखाउने प्रमाण भेटिएका छन् । त्यसलाई पुष्टि हुने गरी विस्तृत अनुसन्धान गर्न समय लाग्ने भएकाले त्यसमा छुट्टै छानबिन गर्न लागिएको हो । सहसचिव भट्टराईले गृह मन्त्रालयकै आडमा अध्यागमनमा त्यसरी भिजिट भिसाको असुली चलाएको आरोप लाग्दै आएको छ । यसमा अध्यागमनका धेरै कर्मचारीको संलग्नताको आशंका गरिएको छ । संगठित रूपमा भिजिट भिसाको असुली भएकाले यसमा अध्यागमनमा अधिकांश कर्मचारी मिलेको आशंका गरिएको छ ।

साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu