मितेरी सहकारी ठगी प्रकरण : शंकाको घेरामा रहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति
काठमाँडौ-
मितेरी सहकारी ठगी प्रकरणमा शंकाको घेरामा रहेका सत्तारूढ दल कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले भने सिआइबी अनुसन्धान प्रतिवेदनमा उन्मुक्ति पाएका छन् ।जबकि प्रतिवेदनमा उनकी पूर्वपत्नी ज्योति गुरुङलाई प्रतिवादी बनाउँदै ३० करोड रुपैयाँ बिगोदाबी गरिएको छ । ज्योति अहिले अमेरिकामा छिन् । घटनामा संलग्नता नदेखिएको हुँदा धनराजलाई प्रतिवादी नबनाइएको एसपी खड्काले दाबी गरे ।
‘घटनाको विभिन्न चरणमा अनुसन्धान भएका छन् । तर, अहिलेसम्म धनराज गुरुङको संलग्नता कतै भेटिएको छैन, त्यसो हुँदा उनलाई प्रतिवादी बनाउने आधार भेटिएन,’ एसपी खड्काले भने । धनराजलाई सत्ताको बलमा संरक्षण भएको आरोप लाग्दै आएको छ । धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएकी थिइन् ।अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ । ज्योतिले लिएको रकम अपचलनमा धनराजको पनि भूमिका रहेको भन्दै प्रश्न उठ्ने गरेको छ ।
हुन त धनराज र ज्योतिबिच २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको थियो । तर, सहकारीले धनराज र ज्योतिबिचको सम्बन्धविच्छेद कागजी रहेको बताउँदै आएको छ । सहकारीले भनेको छ, ‘रकम अपचलन गर्ने ज्योति र धनराजबिचको सम्बन्धविच्छेद कागजी हो । त्यसो हुँदा रकम अपचलनमा ज्योतिसहित उनका पूर्वश्रीमान् धनराजको पनि भूमिका छ । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्छ ।’
यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ ।
त्यसैलाई आधार मानेर समितिले धनराजविरुद्ध पनि छानबिन गरिनुपर्ने भन्दै सरकारसमक्ष सिफारिस गरेको छ । अर्को, ४ मंसिर ०७९ को निर्वाचनमा निर्वाचन आयोगमा उम्मेदवारी पत्र दर्ता गर्दा धनराजले श्रीमती भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । जुन पत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई धनराज स्वयंले स्वीकार गरेका छन् । तर, यो भूलवश भएको दाबी गरेका छन् ।
साभार नयाँपत्रिका