शिवराज–४ पिपरामा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण शिविर संचालन
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका–४ पिपरामा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरणका लागि विशेष शिविर संचालन भएको छ। वडाले वृद्धभत्ता, अपांगता भत्ता, एकल महिला भत्ता लगायतका लाभग्राहीलाई लक्षित गर्दै शुक्रवारदेखि शिविर सञ्चालन गरिएको वडा अध्यक्ष नसीम अहमद खाँले जानकारी दिनुभयो।
शिविरमा स्थानीय लाभग्राहीहरूले आवश्यक कागजातसहित उपस्थित भई सहज रूपमा दर्ता तथा नविकरण गराएका छन्। सेवा लिन आउनेहरूको भीडलाई व्यवस्थित गर्न वडा कार्यालयका कर्मचारी, स्वयंसेवक तथा जनप्रतिनिधिहरू सक्रिय रहेका छन ।
वडाबासीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्न र सेवा उनीहरूको घरआँगनमै उपलब्ध गराउने उद्देश्यले यो विशेष पहल गरिएको अध्यक्ष खाँ को भनाई छ ।उहाँले शिविरमार्फत विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिएको बताउनुभयो।
शिविरमा सेवा पाएका लाभग्राहीहरूले अब भत्ता रकम लिन कुनै समस्या नहुने विश्वास व्यक्त गरेका छन्। वडाले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता शिविर सञ्चालन गर्ने जनाएको छ। सेवा लिएपछि स्थानीयले खुशी हुँदै गाउँगाउँमा सरकार भन्ने महसुस गरेको बताएका छन ।