Connect with us
Kapilvast Forest

जापानमा राजनीतिक उलटफेरको संकेत

२०८२, १७ आश्विन शुक्रबारमा प्रकाशित

japan

विश्लेषकहरू यो चुनावबाट दशकौँसम्म जापानमा शासन गरेको पार्टी विघटन हुने खतरा देखिरहेका छन् ।
जापान टाइम्समा प्रकाशित एक आलेखमा ७४ वर्षीय एक वृद्धको मनोविज्ञान चित्रित गरिएको छ । उनी हुन्- हरुओ त्सुकामोटो । उनी जीवनकै सबैभन्दा कठिन राजनीतिक निर्णयसँग जुधिरहेका छन् ।

अब कसलाई जापानको नयाँ प्रधानमन्त्री बनाउन भोट हाल्ने ? दशकौँदेखि समर्थन गर्दै आएको पार्टीलाई अझै साथ दिने वा नदिने ? उनी द्विविधाग्रस्त छन् ।

इबाराकी प्रान्तका छैटौँ पुस्ताका धान किसान त्सुकामोटो सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का करिब १० लाख सामान्य सदस्यहरूमध्ये एक हुन्, जसले शनिबार हुने चुनावमा भोट हाल्न पाउनेछन्।

जापानको युद्धपश्चात्को अधिकांश राजनीतिमा एलडीपीको प्रभुत्व रह्यो र यसका नेता सामान्यतः प्रधानमन्त्री बने। तर, अब त्यो पकड कमजोर बन्दै गएको छ।

त्सुकामोटोलाई पार्टी अझै पनि आफू जस्ता किसानहरूको पक्षमा उभिन्छ कि भन्ने शंका लाग्छ। ‘एलडीपीको सदस्य हुनु अहिले खासै फाइदाजनक छैन,’ त्सुकामोटो भन्छन्। उनी विगतसँग तुलना गर्छन्, ‘जब पार्टीसँग ५० लाखभन्दा बढी सदस्य थिए र ग्रामीण क्षेत्रमा बलियो समर्थन थियो।’

उनीहरूको मनोविज्ञान जापानमा कसरी पुराना पार्टीहरूले आफ्नो बफादार मतदाता गुमाउँदैछन् भन्ने उदाहरण हो ।

जापान टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, बढ्दो जीवनयापन खर्च, पार्टी कोष घोटाला, युवाहरूको सहर पलायन, पपुलिस्ट र अति-दक्षिणपन्थी पार्टीहरूको उदय जस्ता कारणहरूले पुराना पार्टीको आधार कमजोर भएका छन्।

‘अब हामी ब्लक-भोटमा भर पर्न सक्दैनौं,’ इबाराकी राजधानी मितो नगरसभाका एलडीपी सदस्य हिरोकात्सु सुदा (५८) भन्छन्, ‘म ३० वर्षभन्दा बढी समयदेखि एलडीपी सदस्य हुँ, तर अहिले जस्तै कठिन परिस्थिति कहिल्यै देखेको छैन ।’

मतदाताको दक्षिणपन्थी रुझान

जापानको एक प्रान्त इबाराकीमा एलडीपीको संकटले मतदाताको बदलिएको मनोविज्ञानको बलियो प्रतिनिधित्व गर्छ ।

मितोका सुदाले मतदातालाई पार्टी समर्थन गर्न आग्रह गर्दा उनीहरूले सान्सेइतो (नयाँ दक्षिणपन्थी पार्टी) रोजेको सुन्नुपर्‍यो ।

एलडीपी जापानमा विगत ३ दशकदेखि लगभग निरन्तर शासन गर्दै आएको पार्टी हो । पछिल्लो पाँच वर्षमा चार जना प्रधानमन्त्री फेरिएसँगै जापान राजनीतिक अस्थिरताले ग्रस्त छ ।

सीएनएनमा प्रकाशित एक सामग्रीका अनुसार, केही युवा अति-दक्षिणपन्थी पार्टीहरूले यही राजनीतिक विकृतिको फाइदा उठाइरहेका छन् । उदाहरणका लागि, उदीयमान दक्षिणपन्थी जनवादी पार्टी सान्सेइतोले जुलाईमा भएको संसदीय चुनावमा ठूलो सफलता हासिल गर्‍यो । उसले डोनाल्ड ट्रम्पको शैलीमा ‘जापानीज पहिलो’ भनेर प्रचार गरेपछि माथिल्लो सदनमा १४ सिट जित्यो।

यदि ताकाइची विजयी भइन् भने उनी जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्। अर्कोतर्फ, कोइजुमी विजयी भए भने ४५ वर्षकै उमेरमा जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नेछन्।
सान्सेइतो एक अनलाइन समूहको रूपमा सुरु भएको थियो, जसको युट्युब च्यानलमा अहिले आधा मिलियन भन्दा बढी सब्सक्राइबरहरू छन्। यसको सफलताले हालका वर्षहरूमा जापानको ‘डिजिटलकृत समाज’ मा भएको परिवर्तनलाई संकेत गर्छ ।

साथै, यसले पुरानो शैली र तरिकाले चल्ने पार्टीहरू मतदाताहरूबाट कसरी विच्छेद भइरहेका छन् भन्ने देखाउँछ ।

इबाराकीकी सांसद नाओको ताकाहाशी भन्छिन्, ‘सन् २०२२ मा पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएदेखि पार्टी समर्थन घट्दै गएको हो। हामी धेरै वामपन्थी जस्तै देखियौं, त्यसैले दक्षिणपन्थी मतदाता टाढा भए ।’

जोसो नगरमा अहिले जनसंख्याका १० प्रतिशत विदेशी आप्रवासी छन् । यसले पनि आप्रवासी विरोधी नाराले प्राथमिकता पाइरहेका छन् र दक्षिणपन्थी शक्तिहरूले मलिलो राजनीतिक जमिन पाइरहेका छन् ।

अत्यधिक मूल्यवृद्धिका कारण किसानहरू निकै असन्तुष्ट देखिन्छन् । सबै कुराको मूल्यवृद्धि भइरहँदा धानलाई मात्रै दोष दिइएकोमा पनि उनीहरू असन्तुष्ट छन् ।

कसरी हुन्छ निर्वाचन ?

जापानमा बहुमत भएको पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास छ। त्यसैले यस चुनावमा जो विजयी हुन्छ, उसलाई संसदमा मतदानपछि प्रधानमन्त्री बनाइनेछ।

पहिलो चरणमा केवल दुई उम्मेदवार अघि बढ्नेछन्। दोस्रो चरणमा सांसदहरूको मतलाई बढी महत्व दिइन्छ।

अध्यक्ष पदको दौडमा पाँच उम्मेदवार छन्, तर प्रतिस्पर्धा भने दुई जनाबीच केन्द्रित देखिएको छ। क्योदो न्युजले आइतबार गरेको सर्वेअनुसार पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइची ३४.४ प्रतिशत मत समर्थनसहित सबैभन्दा अगाडि छिन्। दोस्रो स्थानमा कृषि मन्त्री शिन्जिरो कोइजुमी छन्, जसलाई २९.३ प्रतिशत समर्थन छ।

सर्वेक्षणअनुसार पार्टी सदस्यहरूबीच ताकाइची र कोइजुमी अगाडि भए पनि सांसदहरूबीच कोइजुमी र हयाशी बलिया देखिन्छन् ।

यदि ताकाइची विजयी भइन् भने उनी जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्। अर्कोतर्फ, कोइजुमी विजयी भए भने ४५ वर्षकै उमेरमा जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नेछन्।

विजयी उम्मेदवार संसदमा प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ, किनभने विपक्षीहरूले साझा उम्मेदवार चयन गर्न सकेका छैनन्। तर विजेताले बलियो सरकार पाउने छैन। पार्टीले दुवै सदनमा बहुमत गुमाइसकेकाले अल्पमत सरकार मात्र हुनेछ।

सँगै, विपक्षीहरूले साझा उम्मेदवार तय गर्न सक्दा एलडीपीका नवनिर्वाचित नेता प्रधानमन्त्री बनिहाल्छन् भन्ने पनि निश्चित छैन ।

को हुन् ५ प्रतिस्पर्धीहरू ?

सन् २०२४ को सेप्टेम्बरमा प्रधानमन्त्री बनेका शिगेरु इशिबा राजीनामा दिएपछि उनको स्थान लिन धेरै प्रतिस्पर्धीहरू अगाडि आएका छन् ।

तीमध्ये मैदानमा देखिएका ५ प्रतिस्पर्धीहरूः

साना ताकाइची

एलडीपीकी दक्षिणपन्थी कन्जर्भेटिभ नेतृ शिन्जो आबेकी निकट नेतृ हुन्। संविधान संशोधन र राष्ट्रिय सुरक्षामा मुखर देखिएकी उनी २०२४ को निर्वाचनमा रनर-अप थिइन् ।

उनी अहिले पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा छिन् र उनी प्रमुख दाबेदार पनि हुन् । उनले क्वाड र इन्डो–प्यासिफिक सहयोगमा जोड दिंदै आएकी छन् ।

बढी खर्च गरेर आर्थिक वृद्धि गर्ने, स्थानीय सरकारलाई मुद्रास्फीति नियन्त्रणका लागि सहयोग रकम दिने योजना पनि उनले अगाडि सारेकी छन् । आलोचकहरू भन्छन्— प्रधानमन्त्री बनेमा उनले बैंक अफ जापानको ब्याजदर बढाउने प्रयास रोक्न सक्छिन् ।

लगानीकर्ताहरू ताकाइचीको जितलाई लिएर बढी चिन्तित छन्। उनले वृद्धि प्रोत्साहन गर्न खर्च बढाउने सम्भावना छ र मुद्रास्फीतिसँग लड्न स्थानीय सरकारहरूलाई पैसा बाँड्ने पक्षमा छिन्। उनले ब्याज दर बढाउने बैंक अफ जापानको प्रयासमा ब्रेक लगाउन सक्छिन् भन्ने आशंका उनका आलोचकमा छ ।

शिन्जिरो कोइजुमी

उनी पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । युवा, मिडियामैत्री, समलैङ्गिक विवाह र लैङ्गिक समानतामा उदारता उनका खास परिचय हुन् । सन् २०२४ को निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए ।

उनले बाजी मारे जापानको इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नेछन् । उनले सन् २०३० सम्म तलब १० लाख यान बढाउने, ग्रामीण प्रान्तमा नयाँ उद्योग विकास गर्ने, मौद्रिक नीति केन्द्रीय बैंकलाई छोड्ने योजना अगाडि सारेका छन् ।

योशिमासा हयाशी

उनी वर्तमान सरकारका प्रवक्ता पनि हुन् । संघर्षरत परिवारलाई सहयोग गर्न बेलायतको ‘युनिभर्सल क्रेडिट’ जस्तै योजना प्रस्ताव गरेका छन् ।

उनीसँग पटकपटक क्याबिनेट पदमा काम गरेको अनुवभ छ । पार्टी एकता र आर्थिक स्थिरतामा अर्जुनदृष्टि लगाउँछन् । उनी ‘फ्री एण्ड ओपन इंडो–प्यासिफिक’ मा सहकार्य विस्तार गर्न इच्छुक देखिन्छन् ।

तोशिमित्सु मोटेगी

५९ वर्षीय उनी पूर्व विदेश मन्त्री हुन् । लगानीलाई प्रोत्साहन गरेर आर्थिक वृद्धि गर्ने योजना अगाडि सारेका छन् ।

उनी अर्थतन्त्र र व्यापार विशेषज्ञ हुन्। ट्रम्पसँग ट्यारिफ सम्झौता गर्न विशेष भूमिका खेलेका थिए ।

ताकायुकी कोबायाशी

उनी ५० वर्षीय कन्जर्भेटिभ नेता हुन् । उनी अस्थायी आयकर कटौतीको पक्षमा देखिएका छन् । हार्वर्ड स्नातक रहेका उनीसँग वित्त मन्त्रालयको अनुभव छ ।

बहुमत नआए के हुन्छ ?

एलडीपी अध्यक्ष चुनावमा पार्टीका सांसद, विधायक मात्र होइन, सदस्यहरूले पनि मतदान गर्छन्। पहिलो चरणमा कसैले ५१ प्रतिशत बहुमत नपाएमा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणमा मतदान हुन्छ।

अध्यक्ष बन्ने विजेतालाई संसदमा प्रधानमन्त्रीका लागि सिफारिस गरिन्छ र बहुमत पाएपछि पदको शपथ लिन्छ।

शिगेरु इशिबाले किन राजीनामा दिए?

शिगेरु इशिबा सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेका थिए। उनी पार्टीभित्र ‘आउटसाइडर’ मानिन्थे, अर्थात् उनीसँग कुनै बलिया संरक्षक थिएन। उनले महङ्गी र आर्थिक समस्या समाधान गर्ने वाचा गरेका थिए, तर समय कठिन बन्यो।

उनले राजीनामा दिनुका खास दुई कारण जिम्मेवार मानिन्छ । पहिलो हो- चुनावी पराजयको झट्का । अक्टोबर २०२४ को तल्लो सदन चुनावमा एलडीपी-कोमेइतो गठबन्धन पराजित भयो।

त्यसपछि जुलाई २०२५ को माथिल्लो सदन चुनावमा पनि हार बेहोर्नुपर्‍यो । सन् १९५५ पछि पहिलोपटक पार्टीले दुवै सदनमा बहुमत गुमायो।

अर्को कारण हो- आन्तरिक दबाब । लगातार पराजयपछि पार्टीभित्रैबाट इशिबामाथि राजीनामाको दबाब आयो। उनी ‘अत्यधिक उदार’ भएको आरोप लाग्यो, जबकि पार्टीलाई कन्जर्भेटिभ नेता चाहिएको थियो।

अन्ततः इशिबाले ७ सेप्टेम्बर २०२५ मा राजीनामा दिँदै भने, ‘म पार्टीमा फुट ल्याउन चाहन्नँ। अब नयाँ पुस्तालाई मौका दिन्छु।’

शिन्जो आबेपछि एलडीपी किन कमजोर बन्यो ?

शिन्जो आबे जापानका सबैभन्दा लामो समय (सन् २००६/०७ र २०१२/२०) प्रधानमन्त्री बनेका थिए। उनका ‘अबेनोमिक्स’ सुधारहरूले अर्थतन्त्रलाई बलियो बनाएको थियो।

तर उनले स्वास्थ्य समस्याका कारण सन् २०२० मा राजीनामा दिए। सन् २०२२ मा त उनको हत्या भयो, जसले पार्टीलाई ठूलो धक्का दियो।

एलडीपी अहिले कमजोर बन्दै गएको छ । यसका केही प्रमुख कारणहरूमध्ये एक हो फन्डिङ स्क्यान्डल (२०२३–२४) । पार्टीका गुटहरूले फन्डरेजरबाट उठाएको करोडौँ येन गोप्य खातामा हाल्ने काम गरे, जुन गैरकानुनी थियो।

यसमा ८२ सांसद संलग्न देखिएका छन्, जसमा आबे गुटका पनि सदस्य थिए।

अर्को कारण हो, युनिफिकेशन चर्च विवाद । सन् २०२२ मा आबेको हत्या पछि एलडीपी र विवादास्पद धार्मिक समूहबीचको सम्बन्ध उजागर भयो। यसले पनि पार्टीको छवि धमिलियो ।

थप कारण हुन्- चुनावी असफलता र आन्तरिक कलह ।

सन् २०२४–२५ को निर्वाचनमा एलडीपी पराजित भयो । मतदाताहरू महङ्गी, चामलको मूल्य र कमजोर मुद्राबाट असन्तुष्ट थिए । युवा मतदाताहरू दक्षिणपन्थी पार्टीहरूतर्फ आकर्षित हुनथाले जसले ‘जापान फर्स्ट’ र ‘आप्रवासन विरोधी’ नाराहरू उठाएका छन्।

भनिन्छ- कमजोरीले कलह निम्त्याउँछ । आन्तरिक एकता कमजोर बन्छ । आबेपछि पार्टीभित्र कन्जर्भेटिभ र सुधारवादी गुटबीच अन्तरसंघर्ष सुरु भयो । सांसेइतो जस्ता दक्षिणपन्थी पार्टीहरूले एलडीपीभित्र रहेको कन्जर्भेटिभ मत चोर्दैछन् । हाल एलडीपी पहिलो पटक अल्पमतको सरकार चलाइरहेको छ र विपक्षी शक्ति बलियो हुँदै गएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu