एआईजी चतुर्वेदी २० किलो मालाले सम्मानित
सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तुमा भव्य रूपमा सम्मान गरिएको छ । कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा समाजसेवी कुनाल प्रताप शाहले उहाँलाई २० किलोको माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै एआईजी चतुर्वेदीले “नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो” भन्ने स्पष्ट सन्देश दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।”
चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने उल्लेख गर्दै प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरी अहिले आधुनिक प्रविधि र सामुदायिक सहभागिताको माध्यमबाट जनताको विश्वास जित्ने दिशामा अघि बढिरहेको छ ।
सम्मान कार्यक्रममा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले शान्ति सुरक्षामा बिशेष योजना सन्चालन गर्ने अनुरोध गर्नुभयो ।
समाजसेवी कुनाल प्रताप शाहले भने, “एआईजी चतुर्वेदीजस्ता इमानदार र जनमुखी प्रहरी अधिकारी देशका गौरव हुन् । उहाँजस्ता नेतृत्वका कारण प्रहरी र जनताबीचको विश्वास अझ मजबुत बन्दै गएको छ,” भन्दै उहाँलाई २० किलोको माला लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाकी दलित समुदायबाट एमबिबिएस अध्ययन पूरा गरेकी डा. स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगरले जनाएको छ ।
कार्यक्रमको स्वागत मन्तव्य हरि ओम तुलस्यानले गर्नुभयो भने सञ्चालन तथा स्वागत भाषण अध्यक्ष तिरेश शर्माले गर्नुभएको थियो ।