वन संरक्षण गर्नु सबैको दायित्व हो : सांसद यादव
–अनिल अधिकारी –
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष साझेदारी वनले विजयनगरको खडैचा सभाहलमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले ‘वन र मानवबीचको सम्बन्ध एकअर्काको पूरक हो’ भन्दै वृक्षारोपण र संरक्षणमा सबैले सक्रिय भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । उहाले आफ्नो कार्यकालमा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउन सफल भएको स्मरण गर्नुभयो ।
त्यसैगरी, विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले वन संरक्षण र विकासका लागि स्थानीय तह र वन उपभोक्ता समूहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिका वनसँग साझेदारी गर्न तयार रहेको बताउनुभयो । जलवायु परिवर्तनका कारण मानवीय जीवनमा परेको प्रभावबारे चिन्ता व्यक्त गर्दै उहाले सबैलाई वन संरक्षण अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।
डिभिजनल वन कार्यालयका वरिष्ठ वन अधिकृत महेन्द्रराज वाग्लेले प्रदेशको कानुन अनुसार राष्ट्रिय वनको व्यवस्थापन अगाडि बढिरहेको बताउँदै २ सय ८८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो ।
गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले समूहले पुनरुत्पादन कटान प्लटका साथै विभिन्न स्थानमा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलोमिटर अग्नि रेखा निर्माण तथा ७२.६२ हेक्टर क्षेत्रमा काँडे तारबारसहित वृक्षारोपण गरेको जानकारी दिनुभयो ।
उपाध्यक्ष सिमा अर्यालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले आगामी वर्षमा पनि संरक्षण, मर्मत, अतिक्रमण व्यवस्थापन र सामाजिक विकासका कार्यहरूलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।