Connect with us
Kapilvast Forest

कपिलवस्तुको विकासमा विशेष योजना आवश्यक : प्रचण्ड

२०८२, १७ मंसिर मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-

नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुको समग्र विकासका लागि आफू र आफ्नो पार्टी निरन्तर प्रतिबद्ध रहेको बताउनु भएको छ । शनिबार शिवराज नगरपालिका–५ खैरीस्थित युवा नेता रहिस शाहको घरमा स्थानीयहरूसँग गरिएको भेटघाट तथा संवाद कार्यक्रममा उहाँले कपिलवस्तुको आवश्यकता, चुनौती र सम्भावनाअनुसार दीर्घकालीन विकास योजना आवश्यक रहेको बताउनुभयो ।

कपिलवस्तु मुस्लिम समुदायको बहुलता भएको जिल्ला भएकाले यहाँका जनताको जीवनस्तर उकास्न विशेष नीति, कार्यक्रम र लगानी अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो । मुस्लिम समुदायको पहिचान, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीजस्ता क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्न सके मात्र कपिलवस्तु समुन्नत दिशामा अघि बढ्ने उहाँको भनाइ थियो ।

उहाँले आफू विगतमा पनि कपिलवस्तुका विभिन्न स्थानमा आएर स्थानीयको समस्या र अपेक्षा प्रत्यक्षरूपमा बुझेको स्मरण गराउँदै, “म यहाँको समाज, भूगोल र परिवेशसँग राम्रोसँग परिचित छु । कपिलवस्तुको विकासका लागि जति सकिन्छ, मैले सधैं प्राथमिकतामा राख्दै आएको छु,” भन्नुभयो ।

देश आर्थिक चुनौतीका अवस्थामा रहेको उल्लेख गर्दै पनि विकासका मूलभूत पूर्वाधार, सामाजिक सशक्तिकरण र सीमान्तकृत समुदायका मुद्दालाई आफ्नो पार्टीले निरन्तर उठाइरहेको जानकारी उहाँले दिनुभयो । कपिलवस्तुको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका कारण यस क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन र औद्योगिक क्षेत्र विस्तार गर्न सके आर्थिक समृद्धि सहज हुनेमा उहाँले जोड दिनुभयो ।

स्थानीयहरूसँगको अंतर्क्रियाका क्रममा शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ, कृषि आधुनिकीकरण तथा रोजगारीका अवसरका विषयमा आएका गुनासा र सुझावहरू उहाँले ध्यानपूर्वक सुन्नुभयो । कपिलवस्तुको आवश्यकता र प्राथमिकताअनुसार केन्द्रबाट आवश्यक समन्वय गरेर कार्यक्रम अघि बढाउन आफू तयार रहेको प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकासका काममा देखिएको सुस्तता, मुस्लिम युवामा बढ्दो बेरोजगारी, स्वास्थ्य सेवा अभाव, शैक्षिक सुधारका आवश्यकता, कृषि साधनसामग्रीको अभाव तथा सीमावर्ती क्षेत्रमा देखिने सुरक्षा चुनौतिहरूका विषयमा आफ्ना अभिमतहरू राखे ।

युवा नेता रहिस शाहले पूर्व प्रधानमन्त्रीसँग कपिलवस्तुको विकास र मुस्लिम समुदायको उत्थानका लागि विशेष पहल गरिदिन स्थानीयले राखेको आग्रहबारे जानकारी दिनुभयो । “कपिलवस्तुको मुद्दा केन्द्रमा प्रभावकारी रूपमा लैजाँदै समाधानका लागि पहल गर्न स्थानीयले प्रचण्डज्यूलाई अनुरोध गरेका छन्,” शाहले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता रुद्र प्रसाद बन्जाडेले कपिलवस्तुको विकासको यात्रामा पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थितिले स्थानीयमा नयाँ ऊर्जा जागेको बताउनुभयो । उहाँले भन्नुभयो, “कपिलवस्तुको सामाजिक संरचना र विकासका आवश्यकता गहिरोसँग बुझ्ने नेतृत्व कमै छन् । प्रचण्डज्यूले यहाँका समस्यालाई नजिकबाट बुझेको देखेर जनतामा भरोसा अझै बढेको छ ।

नेकपा नेता तथा अगुवा इलियास मुसलमानले मुस्लिम समुदायको वास्तविक आवश्यकता र माग के हो भन्ने कुरा केन्द्रमा जोरदार रूपमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँका अनुसार, “कपिलवस्तु मुस्लिम बहुल जिल्ला हो, तर यहाँको विकास गति त्यो अनुसार छैन । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा मुस्लिम समुदाय धेरै पछि छ । प्रचण्डज्यूजस्ता शीर्ष नेताले यस विषयमा चासो देखाउनु सकारात्मक हो, तर अब ठोस कदम देखिनुपर्छ ।”

नेकपाका युवा नेता फैजल खानले स्थानीय युवामा बेरोजगारी र अवसरको अभाव मुख्य समस्या भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँका युवालाई रोजगारी, तालिम, सीप र उद्यमशीलतामा जोडिन अवसर चाहिएको छ । प्रचण्डज्यूलाई हामीले यिनै विषयमा ध्यानाकर्षण गराएका छाँै ।

भेटघाट कार्यक्रम सौहार्दपूर्ण माहोलमा सम्पन्न भएको थियो । स्थानीयहरूले पूर्व प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रतिबद्धताप्रति आशा व्यक्त गर्दै आगामी दिनमा कपिलवस्तुमा ठोस विकास योजना अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश समेत गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu