U-40 कपिलवस्तुको संयोजकमा गिरी
कपिलवस्तु –
नेपाली कांग्रेस (NC) लाई नयाँ पुस्तासँग जोड्ने र पार्टीमा युवा सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ सञ्चालित नेपाली कांग्रेस सुधार अभियान (U-40) को कपिलवस्तु जिल्ला संयोजकमा युवा नेता कृष्ण गिरी चयन हुनुभएको छ ।
नेपाली कांग्रेस सुधार अभियानले पार्टीभित्र अवसरको न्यायोचित वितरण, अवसरमा युवाहरूको पहुँचको सुनिश्चितता, तथा पार्टीको हरेक तह र पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रमुख लक्ष्य राखेको छ ।
चयनपछि बोल्दै युवा नेता गिरीले नेपाली कांग्रेस सुधार अभियानको मुख्य एजेन्डाबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार आगामी निर्वाचनहरूमा युवाहरूको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ अभियानले काम गर्नेछ ।
’नेपाली कांग्रेसलाई नवयुवा पुस्तासँग जोड्दै प्रतिभावान् युवाहरूको आकर्षण बढाउनु आजको प्रमुख चुनौती हो। पार्टीमा अवसरको न्यायोचित वितरण र युवाहरूको पहुँच सुनिश्चितताका लागि हामी ४०% युवा सहभागिताको सुनिश्चिततामा जोड दिनेछौं,’ कृष्ण गिरीले बताउनुभयो।
गिरीले पार्टीको आन्तरिक सुधार, रुपान्तरणका लागि पार्टीका हरेक तहबाट संघर्ष गर्ने र भ्रष्टाचार विरुद्ध खबदारी गर्दै सुशासन कायम गर्न अभियान प्रतिबद्ध रहेको बताउनुभयो। साथै, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउने र लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि निरन्तर बहस र पैरवी गर्ने कार्यमा कपिलवस्तु जिल्ला संयोजकको जिम्मेवारीलाई सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

