ज्ञानपुन्ज महिला बचत तथा ऋण सहकारीको छैठौं साधारण सभा सम्पन्न
कपिलवस्तु ,पुस ४ ।
ज्ञानपुन्ज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर गाउँपालिकाको छैठौं वार्षिक साधारण सभा संस्थाकी अध्यक्ष राधा मिश्राको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमितिका सदस्य, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महिलाको संस्थागत तथा व्यक्तिगत नेतृत्व विकासका लागि हरेक क्षेत्रमा महिलाको सक्रिय सहभागिता र नेतृत्व अनिवार्य रहेको बताउनुभयो । उहाँले महिलाको सशक्तीकरण र लैङ्गिक समानता प्रवर्द्धनका लागि स्थानीय सरकारका रूपमा विजयनगर गाउँपालिकाले हरेक वर्ष विभिन्न उद्यमशील तथा व्यवसायिक तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । साथै सहकारी संस्थाहरूले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाको सीप र क्षमता विकासमा केन्द्रित रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले सहकारी संस्थाप्रति आम नागरिकको विश्वास क्रमशः घटिरहेको वर्तमान अवस्थामा ज्ञानपुन्ज सहकारीले निरन्तर शेयर सदस्य वृद्धि गर्न सफल हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो । उहाँले सहकारीलाई पारदर्शिता, सुशासन र सेवामुखी कार्यशैलीका साथ अघि बढाउन सहकारी मर्जजस्ता दिगो योजनाहरू अवलम्बन गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
छैठौं वार्षिक साधारण सभाको अवसरमा सहकारीले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा सुवास थापा, एसईईमा उत्कृष्ट नतिजा ल्याउने शारदा देवी मौर्या, बढी बाल बचत गर्ने मेनुका पन्थी, बढी बचत गर्ने चेतमाया सारु तथा ज्येष्ठ सदस्य रत्ना देवी महरा, दुर्पता के.सी, दिलसरी के.सी र गुल्वा भरलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो ।
साधारण सभामा गत आर्थिक वर्षको गतिविधिको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना समेत सार्वजनिक गरिएको थियो । सहकारीकी सचिव गीता मिश्राको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहकारीकी व्यवस्थापक प्रमिला पौडेलले गर्नुभएको थियो ।