सभापति पदमा विष्णुको मजबुत दाबी
कपिलवस्तु–
नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै जाँदा देशभर संगठनभित्र नेतृत्व चयनसम्बन्धी चर्चा तीव्र बन्दै गएको छ ।
यही क्रममा कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति पदका लागि वर्तमान नगर सचिव विष्णु पोखरेलको नाम चर्चामा आएको छ ।
शिवराज नगर कांग्रेसको संगठन मजबुत बनाउन लामो समयदेखि सक्रिय रहँदै आउनु भएका पोखरेलले आगामी नगर अधिवेशनमा नगर सभापतिको जिम्मेवारी सम्हाल्ने दाबी गर्नुभएको हो ।
पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने कार्यमा निरन्तर सक्रिय रहनु भएका पोखरेललाई अनुभवी र संगठनप्रति प्रतिबद्ध नेताका रूपमा हेरिएको छ ।
विष्णु पोखरेल २०४८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । विद्यार्थी राजनीतिबाट पार्टी जीवन सुरु गर्नु भएका उहाँ २०५१ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय भई संगठन निर्माणमा जुट्नु भएको थियो ।
उहाँले २०५१ सालमा अर्घाखाँची जिल्लाको तत्कालीन खिदिम गाविसमा नेपाल विद्यार्थी संघ खिदिम गाउँ कार्यसमिति अध्यक्षको जिम्मेवारी सम्हाल्दै पार्टी संगठनलाई तल्लो तहसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
त्यसपछि उहाँ २०५४ सालमा नेपाल विद्यार्थी संघ क्षेत्रीय सदस्य तथा २०५५ सालमा नेपाल विद्यार्थी संघ जिल्ला तदर्थ समिति सदस्यको जिम्मेवारीमा रहनु भयो ।
लामो समयदेखि पार्टीका हरेक अभियान, आन्दोलन र संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै निरन्तर योगदान पुर्याउँदै आउनु भएका पोखरेललाई पार्टीका नेता तथा कार्यकर्ताहरूले योग्य दाबेदारका रूपमा मूल्याङ्कन गर्न थालेका छन् ।
नगर अधिवेशन नजिकिँदै जाँदा शिवराजमा विष्णु पोखरेलको उम्मेदवारीले नेपाली कांग्रेसभित्र थप राजनीतिक सरगर्मी बढाउने देखिएको छ ।