Connect with us
Kapilvast Forest

नयाँहरू शक्ति विस्तारमा : रास्वपा–उज्यालो नेपाल पार्टी एकता, कुलमान उपसभापति

२०८२, १५ पुष मंगलवारमा प्रकाशित

परिवर्तित राजनीतिक परिस्थितिमा उदार अर्थतन्त्र, सामाजिक न्याय र बहुलवादी लोकतन्त्रभित्र असल शासन कायम गर्दै नयाँ राजनीतिक शक्ति स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबिच एकता भएको छ । गत २३ र २४ भदौको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनका सहिद र घाइतेको बलिदानलाई स्मरण गर्दै दुवै पार्टीले साझा लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यससँगै अन्तत: उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि रास्वपामा आबद्ध भएका छन् । सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिचको सहमतिमा छुटेका घिसिङ पनि सोमबार मिलेर जान सहमत भएका हुन् । सहमतिअनुसार घिसिङ एकीकृत राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बालेनले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति छ ।

एक नेताका अनुसार घिसिङ दोस्रो वरीयतामा रहनेछन् । बालेन तेस्रो, डिपी अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा रहनेछन् । यसअघि रवि पार्टी सभापति र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ ।

एकतापश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रंगको गोलाकार बिचमा निलो रंगको घन्टीको आकृति, दलको चुनाव चिह्न घन्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ ।

सहमतिपत्रमा नवयुवाहरू (जेन–जी)ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै, उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणाली (मेरिटोक्रेसी)को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने प्रतिबद्धता पनि जनाइएको छ ।

‘मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई हृदयङ्गम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र उज्यालो नेपाल पार्टी (दोस्रो पक्ष) बिच देहायका सहमति भएको छ,’ सहमतिपत्रमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu