Connect with us
Kapilvast Forest

निर्वाचन प्रहरीमा भर्ना हुन दुई दिनमै २७ हजारको आवेदन

२०८२, २७ पुष आईतवारमा प्रकाशित

आगामी २१ फागुनमा हुने निर्वाचनको सुरक्षार्थ निर्वाचन प्रहरीका लागि आवेदन दिने युवाहरूको संख्या दुई दिनमै २७ हजार नाघेको छ । यो संख्या नेपाल प्रहरीमातहत भर्ना हुन चाहने युवाहरूको मात्रै हो । सरकारले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । जसका लागि २४ पुसबाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन खुला गरेको छ । इच्छुक युवाले आगामी १ माघसम्म आवेदन दिन सक्नेछन् । देशभरका जिप्रकामा पहिलो दिन नै ११ हजार ६९ र दोस्रो दिन १६ हजार ३६२ को आवेदन परेको छ ।

दुई दिनमै २७ हजार ४३१ युवाले निर्वाचन प्रहरीमा भर्ती हुन आवेदन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । ‘निर्वाचन प्रहरीको आवेदन २४ पुसदेखि खुला भएको छ । इच्छुक युवाले १ माघसम्म आवेदन दिन सक्नेछन् । पहिलो दिनमा नेपाल प्रहरीमा मात्रै ११ हजार ६९ युवाको आवेदन पर्‍यो । दोस्रो दिन यो संख्या बढेर १६ हजार ३६२ पुगेको छ । आवेदनको चाप हेर्दा युवाको सहभागिता उत्साहजनक ढंगले बढेको देखिन्छ,’ उनले भने ।

निर्वाचन प्रहरीमा आवेदन दिने महिलाहरूको संख्या पनि उत्साहजनक देखिन्छ । शुक्रबार आवेदनको परेको संख्या विश्लेषण गर्दा आवेदन दिनेमध्ये २७.८६ प्रतिशत महिला देखिन्छ । त्यस दिन मुलुकभर चार हजार ५६० महिलाको आवेदन परेको थियो भने पुरुषको संख्या ११ हजार ८०२ छ ।

यता सशस्त्र प्रहरीमा पनि आवेदन दिने युवाको लर्को देखिन्छ । सशस्त्रले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार ७७ वटै गुल्ममा ७३३ युवाको आवेदन परेको छ । सशस्त्रलाई १५ हजार ११० मात्रै निर्वाचन प्रहरी भर्ना गर्ने स्वीकृति छ । आवेदन दिनेमध्ये १४२ महिला र ५९१ पुरुष छन् ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी मनीष थापाले निर्वाचन प्रहरीमा भर्ती हुन चाहने युवाको संख्या सशस्त्रमा पनि उत्साहजनक रहेको बताए । ‘सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरी मात्रै भर्ना गर्न पाउँछ । हालसम्मको स्थिति हेर्दा युवाको सहभागिता उत्साहजक देखिन्छ । हामीले ७७ वटै जिल्लाबाट भर्नाका लागि आह्वान गरेका छौँ । आवेदन पर्ने क्रम जारी छ,’ उनले भने ।

निर्वाचनका लागि हालसम्म मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण भएका छन् । जसमा निर्वाचन केन्द्र २३ हजार ११२ निर्धारण भएका छन् । गृह मन्त्रालयका अनुसार ३६ सय ८० मतदानस्थल अतिसंवेदनशील छन् । ती अधिकांश तराईका जिल्लाका छन् । त्यस्तै, ४४ सय ४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । बाँकी २८ सय ४५ मतदानस्थल भने सामान्य अवस्थाका छन् ।

प्रहरीका अनुसार निर्वाचन प्रहरीले न्यूनतम ५४ हजारदेखि अधिकतम ८३ हजार रुपैयाँसम्मको खर्च सिलिङभित्र ४० दिनको तलबसहित पोसाक, खाद्यान्न र भ्रमण भत्ताबापतको रकम प्राप्त गर्नेछन् । निर्वाचन प्रहरीको दर्जा जवानसरहको हुन्छ । निर्वाचन प्रयोजनार्थ उनीहरू ४० दिन फिल्डमा खटिनेछन् र त्यसै अवधिको तलब–सुविधा प्राप्त गर्नेछन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाभित्र खटिने निर्वाचन प्रहरीले सबैभन्दा कम र जुम्लामा खटिने निर्वाचन प्रहरीले सबैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन् । काठमाडौं उपत्यकाभित्र खटिनेले तलब र अन्य सुविधासहित ५४ हजार ३६८ रुपैयाँ मात्रै प्राप्त गर्नेछन् । जुम्लामा खटिनेले भने ८३ हजार २४१ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, तराईका जिल्लामा खटिनेका लागि तलब–सुविधासहित ५५ हजार ६६६ खर्च हुनेछ । तराईको पनि झापामा खटिनेले भने काठमाडौंसरह ५४ हजार ३६८ मात्रै पाउँछन् ।

पहाडी क्षेत्रका जिल्लामा खटिनेहरूका लागि तलब र अन्य सुविधासहित ५८ हजार ७८५ रुपैयाँ खर्च गरिनेछ । तर, पहाडी जिल्लाका पनि सहरी क्षेत्रमा खटिनेहरूले ५६ हजार ९७१ रुपैयाँबराबरको मात्रै तलब–सुविधा प्राप्त गर्नेछन् ।

हिमाली क्षेत्रका जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि भने तलब र अन्य सुविधासहित ६४ हजार ६०८ रुपैयाँ खर्च गरिनेछ । तर, उक्त क्षेत्रको पनि विकट क्षेत्रमा खटिनेहरूलाई तलब र अन्य सुविधासहित ८३ हजार २४१ रुपैयाँ खर्च गरिने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार मतदान केन्द्र र सुरक्षा थ्रेट वृद्धिसँगै निर्वाचन प्रहरीको संख्या पनि बढेको छ  । ०७९ को निर्वाचनमा मुलुकभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ५१२ मतदान केन्द्र निर्धारण भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu