Connect with us
Kapilvast Forest

लगातार ६ हारपछि कमल थापाले मकवानपुर राजनीतिबाट हात झिके

२०८२, ६ माघ सोमबारमा प्रकाशित

हेटौंडा –

पञ्चायत, बहुदलीय प्रजातन्त्र र गणतन्त्रमा पटकपटक शासनमा पुगेका नेता हुन्, कमल थापा । गृहजिल्ला मकवानपुरलाई राजनीतिको कर्मभूमि बनाएका थापाका लागि पटकपटक राजनीतिक परिस्थिति अनुकूल बन्यो । जसका कारण उनी उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री बने ।तर, जनअनुमोदन रु २०४७ सालयता भएका सबै सात निर्वाचनमा सहभागी थापा एकपटक मात्र विजयी भए । ६ पटक पराजित हुँदा पनि सिंहदरबार उनका लागि पानीपँधेरोजस्तै भइदियो ।

मुलुक यतिबेला आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुख छ । ६ माघमा उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका छ । यसबीच उनी आवद्ध पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई काठमाडौंको पाँच नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । अर्थात्, उनले आठौं चुनावका लागि गृह जिल्ला मकवानपु छाडेर काठमाडौंलाई रोजेका छन् ।

३५ वर्षयता थापा पहिलोपटक मकवानपुरबाट उम्मेदवार बन्ने छैनन् । २०५१ को मध्यावधि निर्वाचन जितेयताका ३१ वर्षसम्म थापा गृहजिल्ला मकवानपुरबाट निरन्तर पराजित बनिरहेका थिए । बीचका यी सबै अवधिमा एकपटकबाहेक नेकपा एमालेका उम्मेदवारसँग उनी पराजित भएका थिए ।पछिल्लो प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेकपा एमालेकै चिह्न सूर्य लिएर उठ्दासमेत उनी पराजित हुन पुगे । त्यो पनि आफ्नो राजनीतिक चेला मानिने दीपक सिंहसँग ।

‘आउँदो चुनावमा कमल दाई मकवानपुरबाट उम्मेदवार बन्नु हुनेछैन । अब काठमाडौं–५ बाट उहाँको उम्मेदवारी हुनेछ,।’ थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका थापानिकटका राप्रपा नेता राजाराम बर्तौलाले  भने ।राप्रपाले काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउँदा थापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका हुन् । आफ्नै गृहजिल्लाबाट किन निर्वाचन लड्न नखोज्नु भएको भन्ने प्रश्नमा बर्तौलाले भने, ‘त्यहाँबाट दीपक सिंह नै राप्रपाको उम्मेदवार बन्नुहुनेछ । त्यसैले कमल थापा काठमाडौंबाट उम्मेदवारी बन्ने तयारीमा हुनुहुन्छ ।’

थापा २०४८ यताका सबै चुनाव मकवानपुरबाट उठेका छन् । बहुदलपछिको २०४७ को चुनावमा उनलाई मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालले हराइदिए । २०५१ को मध्यावधि चुनावमा मकवानपुरका दुवै क्षेत्रबाट उठेका थापाले मकवानपुर–१ मा दाहाललाई हराए भने २ मा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भए ।त्यसपछि २०५६ मा आम निर्वाचन भयो । त्यसमा मकवानपुर–१ र ३ बाट लडेका थापालाई दुवैतिर एमालेका उम्मेदवारले हराए । १ मा उनै दाहाल र ३ मा वीरबहादुर लामा विजयी भए ।

२०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उठेका थापालाई तत्कालीन नेकपा ९माओवादी० केन्द्रका प्रल्हाद लामिछानेले हराए । २०७० मा भने उनी समानुपातिक सूचीमा रहँदै दोस्रो संविधानसभामा पुगे ।२०७२ मा संविधान जारी भएपछि २०७४ मा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेससँगको सहकार्यमा थापा मकवानपुर–१ बाट उम्मेदवार बनेका थिए । तर, यसपटक पनि कृष्णप्रसाद दाहाल भारी परे ।

२०७९ को निर्वाचनमा पनि उनी १ नम्बर क्षेत्रबाटै उम्मेदवार बने । यसपटक उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तालमेल गरी सूर्य चिह्न लिएर उम्मेदवार बनेका थिए । तर, यसपटक पनि उनको हात जित परे ।राप्रपाका उम्मेदवार दीपक सिंह विजयी हुँदा उनी तेस्रो स्थानमा रहन पुगे । कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना दोस्रो भइन् ।एकातिर, आवश्यक जनमत प्राप्त नहुँदा संसद् पुग्ने बाटो नियमित अवरुद्ध भइरहेको थियो । अर्कोतिर, राप्रपाको अधिवेशनमा पनि उनी आफ्नै विश्वासपात्र रहिसकेका राजेन्द्र लिङ्देनसँग पराजित हुन पुगे । यो पराजयमा पूर्वराजा ज्ञानेन्द्रको भूमिका रहेको विश्लेषणसहित उनले राप्रपा त्यागे, राप्रपा नेपाल नामको पार्टी मात्र खोलेनन्, राजतन्त्र त्यागेर गणतन्त्र स्वीकार गरेको घोषणा गरे ।

त्यही क्रममा २०७९ को निर्वाचनमा उनले ओलीबाट सूर्य चिह्न लिएका थिए । तर, सो निर्वाचनमा पनि पराजित भएपछि थापा अन्ततस् आफ्नो पुरानै मुद्दामा फर्किए । र, संवैधानिक राजासहितको प्रजातन्त्र, हिन्दूराज्य, संघीयता खारेजीको मुद्दा उठाउन थाले ।यही मुद्दा लिएर अघि बढिरहेको राप्रपासँग उनले केही साताअघि पार्टी एकता गरे । यससँगै उनी आगामी निर्वाचनमा होमिएका छन्, काठमाडौं क्षेत्र नम्बर ५ बाट ।लामो समयपछि मकवानपुरे जनताले कमल थापा मत माग्दै आफ्नो घरदैलोमा आएको देख्न पाउने छैनन् । तर, यस्ता केही कुरा छन्, जसले थापालाई मकवानपुरे जनताले लामो समयसम्म सम्झिरहनेछ ।

राजधानीसँग नजिक रहे पनि विद्युतीकरण, खानेपानी सडक जस्ता पूर्वाधारमा मकवानपुर लामो समयसम्म पछाडि थियो । पटकपटक मन्त्री बन्दा थापाले विद्युतीकरण र खानेपानीको व्यवस्थापनमा योगदान दिए ।

अन्य भौतिक संरचना निर्माणमा पनि थापाको योगदान रह्यो । यीभन्दा महत्वपूर्ण योगदानका रूपमा थापाले आफू सरकारमा रहेका बेला पहिले हेटौंडालाई मध्यमाञ्चलको मुकाम घोषणा गराए ।२०७२ मा संविधान जारी भइसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका बेला थापाले हेटौंडालाई बागमती प्रदेशको अस्थायी राजधानी घोषणा गराए । पछि मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा पहिलो प्रदेश सभाको दुईतिहाइ बहुमतले हेटौंडालाई बागमतीको स्थायी राजधानी कामय गर्‍यो ।

२०५१ सालयता ९ पटक मन्त्री

२०१२ सालमा काठमाडौंको डिल्लीबजारमा जन्मिएका थापाले पञ्चायतकालमा पनि मकवानपुरबाट निर्वाचन लडे । २०४६ को राजनीतिक परिवर्तनले मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापना गरेपछि २०४७ मा पहिलो आमनिर्वाचन भएको थियो । सो निर्वाचनमा थापा मकवानपुरबाटै उम्मेदवार बने । सो निर्वाचनमा पराजित भए पनि २०५१ को मध्यावधि निर्वाचनमा उनी विजयी भए । त्यसपछि पटकपटक सरकार फेरबदल हुँदा थापाले मन्त्री बन्ने मौका पाइरहे । २०५१ यता उनी नौपटक मन्त्री बने ।२०५१ को मध्यावधिपछि एमाले नेतृत्वको अल्पमतको सरकार ढलेपछि नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए । देउवा सरकार ढलेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा–एमाले सरकार बन्दा उनी आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए ।

त्यसपछि सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा–कांग्रेस सरकार बन्ने परिस्थिति सिर्जना हुनासाथ क्याम्प परिवर्तन गरेर उनी परराष्ट्र र कृषिमन्त्री बने । सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री पनि भए ।२०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले सैनिक कू मार्फत शासनसत्ता हातमा लिए । सो मन्त्रिपरिषद्मा थापा शक्तिशाली गृहमन्त्री बनेका थिए ।मुलुक गणतन्त्र स्थापना भएपछि २०६४ मा चुनाव हारे पनि समानुपातिकको कोटाबाट २०७० मा दोस्रो संविधानसभामा पुगेपछि पनि थापा मन्त्री बन्न सफल भए ।

२०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकासमन्त्री भए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री भए ।त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री भए । २०७४ को चुनाव हारेपछि सत्ताबाट टाढिएका थापा २०७९ को निर्वाचन लडेर पुनस् सत्ता प्रवेश गर्न चाहन्थे । तर, त्यसपटक सम्भव भएन । थापा यसपटक काठमाडौंबाट त्यही प्रयासमा जुटेका छन् । उनको त्यो प्रयास कति सार्थक हुने हो रु मतदाताकै हातमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu