सिराहामा निर्वाचनलक्षित संयुक्त सुरक्षा अभ्यास सञ्चालन
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने उद्देश्यले सिराहाको मिर्चैया नगरपालिकाको जीवा खोलाको बगरमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चालन गरिएको छ ।जिल्ला सुरक्षा समितिको संयोजनअन्तर्गत नेपाली सेनाको चोहर्वास्थित नन्दाबक्स गणको पहलमा बुधबार संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार संयुक्त सुरक्षा अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला निर्वाचन कार्यालयका कर्मचारी गरी करिब चार सयजनाको सहभागिता थियो ।
‘सुरक्षा अभ्यास निर्वाचनमा सुरक्षाकर्मीलाई मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा, सञ्चालनसहित निर्वाचनका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण र विभिन्न सम्भावित परिस्थितिका लागि तयारी गर्नु हो,’ उनले भने । उनका अनुसार चारवटै निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको तालिमपछि आगामी १५ फागुनसम्म आवश्यकताबमोजिम नमुना मतदानसमेत सञ्चालन गरिनेछ ।
अभ्यासको क्रममा सुरक्षाकर्मीले निर्वाचनमा सम्भावित जोखिम र आपतकालीन परिस्थितिमा अवलम्बन गरिनुपर्ने सुरक्षात्मक कारबाहसम्बन्धी प्रदर्शन गरेका थिए । संयुक्त सुरक्षा अभ्यासले निर्वाचनमा सहभागी नेपाली सेना तथा अन्य सुरक्षा निकायबिच समन्वय र सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको जनाइएको छ । अभ्यास कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्यहरूसहित जिल्ला मुख्य निर्वाचन अधिकृत डा. श्रीप्रकाश उप्रेती, नेपाली सेनाका नं. २७ बाहिनीपति सहायक रथी नारायणबहादुर थापा, सिराहा निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शिव वाग्ले र जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवलगायतको उपस्थित थियो ।
सिराहाको चारवटा निर्वाचन क्षेत्रमा कुल चार लाख ५३ हजार ६४५ मतदातामध्ये पुरुष दुई लाख ४१ हजार ६१५, महिला दुई लाख १२ हजार २८ र दुई अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ । कार्यालयका अनुसार १ देखि ४ नम्बर क्षेत्रसम्म क्रमशः ५६, ५४, ५३ र ६० गरी २२३ मतदानस्थल र ५३१ मतदान केन्द्र रहेका छन् ।