३४ वर्षपछि देउवा युगको अन्त्य : डडेलधुराका मतदाताले पाए नयाँ अनुहार
काठमाडौं –
विसं २०४८ देखि निरन्तर उम्मेदवार भएर सात पटक चुनाव जित्नुभएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार नबनेपछि डडेलधुराका मतदाताले ३४ वर्षपछि नयाँ अनुहारका उम्मेदवारलाई मत हाल्न पाउने भएको छ। मनोनयन दर्ताको एक दिनअघि मात्रै पूर्वसभापति देउवा उम्मेदवार नबन्ने खबर बाहिर आएको थियो। उनी उम्मेदवार नबन्ने भएपछि कांग्रेसका नेता नैनसिंह महर उम्मेदवार बनेका छन्। नेता महर कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्।
उनीसँगै नेकपा (एमाले) बाट च स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत गरेर १३जना उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा (एमाले) का उम्मेदवार स्नेही २०७४ को निर्वाचनमा एमाले पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका थिए भने २०७९ को निर्वाचनमा पार्टीले बिपी कांग्रेससँग गठबन्धन गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए। देशमा लोकतन्त्र बचाउन, अराजकतालाई किनारा लगाउन र समृद्धि ल्याउन आफ्नो उम्मेदवारी रहेकोउनले बताए।
एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको मूल नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ रहेकाले यसको अवअनुरूप काम गर्ने उनले बताए। नेकपाका उम्मेदवार माल क्रान्तिले डडेलधुराले पाँच पटक प्रधानमन्त्री पाए पनि जनताले चाहेको विकास हुन नसकेको भन्दै जिल्लाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए। जनताका माग सिंहदरबार र सिंहदरबारमा हुने बेथिति जनताका माझमा ल्याई सुशासित विकास गर्ने योजना रहेको उनले जानकारी दिए।
डडेलधुरा सम्भावना नै सम्भावना भएको जिल्ला भएकाले यसलाई शिक्षा, स्वास्थ्य, खेलकुदको हबका रूपमा विकास गर्ने योजना आफूले कार्यान्वयन गर्ने जानकारी दिए। २०४८ सालमा पहिलो पटक उम्मेदवार बनेका पूर्वसभापति देउवा गृहमन्त्री बन्दै पाँच पटक प्रधानन्त्रीसमेत बने। पहिलो चुनाव जितिसकेपछि उनले कहिल्यै पनि फर्केर पछाडि हेर्नु परेन। तत्कालीन विद्रोही माओवादी मूलधारमा आएर देशभर लहर ल्याउँदा पनि डडेलधुरामा जित्न सकेन।
तत्कालीन विद्रोही माओवादी मूलधारमा आएपछि भएको पहिलो संविधान सभाको चुनाव २०६४ मा देउवासँग माओवादीका खगराज भट्ट चुनाव डेका थिए। भट्टका २००० मत बदर हुँदा देउवा एक हजार पाँच मतान्तरले विजयी भएका थिए। त्यसअघि र पछिका चुनावमा देउवा आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मत बढी ल्याउँदै विजयी हुँदै आएका छन्। २०४८ सालमा पहिलो पटक चुनाव जितेर गृहमन्त्री बनेका देउवा सुदूरपश्चिमका खम्बाका रूपमा चिनिन्छन्।
उनी गृहमन्त्री हुँदै २०५२ सालमा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम देशको राजधानी काठमाडौसँग जोडिएको दाबी आएका छन्। कर्णाली नदीमा मोटरेबल पुल निर्माण भएपछि तत्कालीन सुदूरपश्चिमाञ्चल देशको राजधानी र अन्य अञ्चलसँग जोडिन पुगेको दाबी पनि उनको छ।कर्णाली पुलसँगै सुदूरपश्चिम अन्तर्गत महेन्द्र राजमार्ग खण्डमा २२ वटा पुल निर्माण गरेको उनले बताउँदै आएका छन्। त्यसयता सुदूरपश्चिमका सात पहाडी जिल्लामा पनि सडक विस्तारसँगै कालोपत्रे गरिएको थियो तर देउवा राजनीतिको केन्द्रमा हुँदा पनि बहुचर्चित पञ्चेश्वर र पश्चिम सेती जलविद्युत् योजना भने निर्माण हुन सकेनन्।
सुदूरपश्चिम एवं नेपालकै मुहार फेरिने भनेर उनले बारम्बार चुनावी सभा भाषण गर्ने यी दुई योजनासँगै महाकाली कोरिडोर, सेती कोरिडोर, दैजीछेला औद्योगिक क्षेत्र, दोधारा चाँदनी सुक्खा बन्दरगाहलगायतका अन्य ठुलो योजना सञ्चालनमा आउन नसक्दा सुदूरपश्चिवासी निराश छन्। यद्यपि पश्चिम सेती जलविद्युत् योजना हाल भारतीय कम्पनी एनएचपिसीसँग सम्झौता भएर वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ। डडेलधुराका प्रत्येक गाउँ सडक सञ्जालसँग जोडिएका छन्। डडेलधुराका महत्वपूर्ण चार वटा सडक कालोपत्रे भएको र केही भइरहेको कांग्रेस उम्मेदवार नेता नैनसिंह महर बताउछन्।
देउवा प्रधानमन्त्री भएपछि २० वटा गाविस रहेको डडेलधुरामा २०५२ सालमा पहिलो नगरपालिका अमरगढी नगरपालिका स्थापना गरिएको थियो। मेडिकल कलेज स्थापना भएर दुई वटा विषयमा अध्यापन भइरहेको, डडेलधुरा अस्पताल तीन शय्यामा स्तरोन्नति र जोगबुढा अस्पताल ५० शैयामा स्तरोन्नति भएकोलगायत धेरै काम देउवाले गरेको महरको दाबी छ।
दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरेर सात वटा स्थानीय तह रहेका छन्। जिल्लाभरिमा हालसम्म १८ वटा खोलामा मोटरेबल पक्की पुल निर्माण भएको र चार वटा पुल निर्माणको चरणमा रहेका छन्। तीमध्ये अधिकांश जिल्लाको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाउँमा रहेको तथ्याङ्क भौतिक पूर्वाधार विकास कार्यालयको तथ्याङ्क छ।