Connect with us
Kapilvast Forest

काठमाडौं-६ : दोहोरिन खोज्दै रास्वपा, फर्किन चाहँदै कांग्रेस-एमाले

२०८२, १८ माघ शनिबारमा प्रकाशित

काठमाडौं-

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-६ मा नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहार उम्मदेवार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने पूर्व निर्वाचितलाई दोहोर्‍याएको छ ।पहिलोपटक २०७९ सालमा प्रतिनिधि सभामा उम्मेदवार बनेर निर्वाचित भएका शिशिर खनाललाई रास्वपाले पुनः प्रतिस्पर्धामा अघि सारेको छ ।कांग्रेसले अघि सारेका कृष्ण सुबज बानियाँ, एमालेका अमनकुमार मास्के र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार उद्धवराज भेटवाल यस क्षेत्रका लागि प्रतिनिधिका नयाँ प्रतिस्पर्धी हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हिमाल शर्मा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । दलीय उम्मेदवार १५ र स्वतन्त्र ५ गरी यस क्षेत्रमा कूल २० जना चुनावी मैदानमा छन् ।गत निर्वाचनमा प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा रास्वपा यो क्षेत्रमा पहिलो शक्ति हो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाले पहिलो स्थानको मत पाएको थियो ।

रास्वपाका सचिवालय सदस्य खनालले गत निर्वाचनमा १४ हजार २२१ मत ल्याएर निर्वाचित भएका थिए । समानुपातिक तर्फपनि रास्वपा पहिलो दल बनेको थियो ।उक्त दलले ११ हजार ९९६ मत पाउँदा दोस्रो स्थानमा एमाले थियो । एमालेको पक्षमा समानुपातिकमा ८ हजार १९ मत खस्दा कांग्रेसले ७ हजार ५७७ मत प्राप्त गरेको थियो ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि चुनाव चिन्ह घण्टी लिएर खनालले प्रतिस्पर्धा गरेका थिए । खनाल पार्टी भूमिकामा सचिवालय सदस्य, विदेश विभाग र पर्यटन विभागका प्रमुख छन् ।४७ वर्षीय खनालले अमेरिकास्थित युनिभर्सिटी अफ विसकन्सिनबाट स्नातकोत्तर तहको अध्ययन सकेका छन् ।युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकको अध्ययन सकेका छन् । सक्रिय राजनीतिमा आउनु अघि ‘टिच फर नेपाल’ संस्था मार्फत उनी परिचित थिए ।

सुशासनका लागि भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहको डिजिटाइजेसनलाई उनले चुनावी मुद्दा बनाएका छन् । आर्थिक वृद्धिका लागि कानुन निर्माण, संशोधन र खारेजी गर्नुपर्ने आवश्यकता उनी देख्छन् । पूर्वाधार विकास, आर्थिक कूटनीतिको प्रवर्द्धन लगायतलाई उनले चुनावी मुद्दा प्रवाहित गरेका छन् ।२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा प्रतिस्पर्धी हुन चाहेका तर टिकट प्राप्त गर्नबाट वञ्चित भएका व्यक्ति कृष्ण सबुज बानियाँलाई कांग्रेसले उम्मेदवार बनाएको छ । दुईपटक काठमाडौं जिल्ला सभापति बनेका बानियाँ यसपटक प्रतिस्पर्धामा उत्रने अवसर पाएका छन् । २०५४ सालमा तत्कालीन गोंगुब गाविसको अध्यक्षमा निर्वाचित ६१ वर्षिय बानियाँ टोखा नगरपालिकाबासी हुन् ।

पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका बानियाँले नदी संरक्षणलाई प्रमुख चुनावी मुद्दा बनाएर मतदाताकहाँ पुगिरहेका छन् । मतदातासँग बानियाँ भन्छन्,‘शहरी संरक्षण तथा पुर्नजागरण सम्बन्धी संकल्प प्रस्ताव संसद बैठकमा पेश गर्ने प्रतिबद्दता गर्दछु । काठमाडौंका नदीहरुलाई प्राकृतिक सम्पदा घोषणा गर्ने प्रक्रियामा सुरु गराउन पहल लिने उनले बताएका छन् । निर्वाचित भएको अवस्थामा शहरी नदी संरक्षण ऐन बनाउन सक्रियता लिने प्रतिबद्दता मतदातासँग गरेका छन् । बानियाँ भन्छन्,‘‘मेरो उद्देश्य पद पाउनु होइन । प्रणाली सुधार्नु हो ।’

गत निर्वाचनमा गुमाएको क्षेत्र फर्काउनुपर्ने चुनौती बानियाँको सामु छ । २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेका भीमसेनदास प्रधानले तेस्रो स्थानको मत ८ हजार ८१२ पाएका थिए । २०७४ सालमा भने उनै प्रधानले यो क्षेत्र जितेका थिए ।विघटित प्रतिनिधि सभाको दोस्रो दल एमालेबाट उम्मेदवार हुनका लागि प्रदेश सभा सदस्यबाट राजीनामा गर्न लगाएर अमनकुमार मास्केलाई अघि बढाइएको छ । काठमाडौं–६ (२) बाट निर्वाचित उनले बागमती प्रदेश सभामा पूरा कार्यकाल रहेनन् ।

प्रतिनिधि सभामा उठ्नका लागि राजीनामा दिएर उम्मेदवार बनेका छन् । बागमती प्रदेश सरकारमा उनी भौतिक पूर्वाधारविकास मन्त्री समेत बने । यसै क्षेत्रको तारकेश्वर नगरपालिका–फुटुङ स्थायी बासिन्दा मास्केले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । इन्जिनियर समेत रहेका मास्के एमालेको ११ औं महााधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।अघिल्लोपटक दोस्रो स्थानमा रहेका एमालेबाट उम्मेदवार बनेका मास्केले ‘विकास भनेको आजको लागि मात्र होइन, पुस्तौंका लागि योजना हो’ भन्दै चुनावी मुद्दा सहित प्रचारमा लागेका छन् ।

मतदातासँग उनी भन्छन्, ‘राजनीति एउटा सेवा हो । पेशा होइन । एमालेले यसपटक जित्नेछ । र, इतिहास कायम हुनेछ । त्यो इतिहासको साक्षी तपाईंहरु हुनु हुनेछ ।’ प्रदेश सभा सदस्य र मन्त्री मतदाताको चाहना अनुसार बनेको उल्लेख गर्दै यस क्षेत्रका बासिन्दाले दायरा फराकिलो बनाउन आग्रह गरेर संघको उम्मेवार बनेको उनी बताउँछन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेबाट एमालेबाट सर्वेन्द्र खनाल बनेर पराजित भएका थिए । उनको पक्षमा ८ हजार ९१७ मत खसेको थियो ।

राजनीतिक दलका विभिन्न घटकहरु सम्मिलित गरेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हिमाल शर्मा उम्मेदवार बनेका छन् । शर्माका लागि यो क्षेत्र दोस्रोपटकको उम्मेदवारी हो ।२०७० सालमा यस क्षेत्रबाट उनी उम्मेदवार बनेका थिए । तत्कालीन माओवादी पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष शर्माले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु निर्वाचनमा २०६५ सालमा सभापति पदमा जितेका थिए । हाल तारकेश्वरका बासिन्दा शर्माले स्नातकोत्तर तहको अध्ययन सकेका छन् ।

नेकपाका उम्मेदवारको चुनावी प्रचारका लागि ६६६ सदस्यी निर्वाचन परिचालन समिति गठन गरिएको छ । विद्यार्थी संगठनका पूर्वनेता सुदेश पराजुलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो ।‘वर्तमानको जिम्मेवारी, भविष्यको आशा । काठमाडौं –६ मा तारा, जनताको सहारा’ नारा तय गरेर शर्माको चुनावी प्रचार भइरहेको छ । नेकपा उम्मेदवार शर्मा आफू जेनजीको वास्तविक प्रतिनिधि भएको दाबी सहित मत मारिहेका छन् ।उनी भन्छन्,‘जेनजी पुस्ताको वास्तविक प्रतिनिधित्व गर्नसक्ने म हुँ । उहाँहरुको भावनाको कदर मैले गर्न सक्छु ।’

यस क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका नेता झक्कु सुवेदी २०७४ सालमा पराजित भएका थिए । तत्कालीन समयमा एमाले र माओवादी एकता गर्ने गरी टुंगो लागेपछि माओवादीबाट झक्कु सुवेदी उम्मेदवार बनेका थिए ।सुवेदी कांग्रेसका उम्मेदवार प्रधानसँग पराजित भएका थिए । झक्कुको पक्षमा १५ हजार ४८५ मत आएको थियो ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धवराज भेटवाल उम्मेदवार बनेका छन् । ३६ वर्षीय भेटवालले स्नातकोत्तर तहको अध्ययन सकेका छन् । २०७९ सालको चुनावमा विष्णुप्रसाद आचार्यलाई राप्रपाले उम्म्मेदवार बनाएको थियो । यसपटक राप्रपाले नयाँ अनुहारका रुपमा भेटवाललाई अघि सारेको छ ।

विदेशवादलाई हराउन र स्वदेशीवादलाई जिताउनका लागि राप्रपाले जित्नुपर्ने तर्क उनले मतदाता सामू गरेका छन् । भेटवाल भन्छन्, ‘हामीलाई कुनैपनि विन्दु र अर्थमा हार्ने छुट छैन । हार्ने सुविधा छैन ।’राजसंस्था सहितको प्रजातन्त्रको मुद्दा सहित भेटवाल चुनावी प्रचारमा जुटिरहेका छन् । गत निर्वाचनमा यस क्षेत्रमा राप्रपाका उम्मेदवार आचार्यले २ हजार १८५ मत सहित चौथो स्थानमा थिए ।यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu