Connect with us
Kapilvast Forest

बढ्दै बैंकहरूको खराब कर्जा

२०८२, १८ माघ शनिबारमा प्रकाशित

वाणिज्य बैंकहरूले प्रवाह गरेमध्ये फिर्ता नआउने वा समयमै असुली हुन नसक्ने निष्क्रिय कर्जा पछिल्लो समय बढ्दै गएको छ । गत आर्थिक वर्ष ०८१/८२ को ६ महिनाको निष्क्रिय कर्जा अनुपात ४.४८ प्रतिशतको तुलनामा चालू आव ०८२/८३ को सोही अवधिमा अधिकांश वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात बढेर ५.०७ प्रतिशत पुगेको हो ।

यो तथ्यांकले बैंकहरूले दिएको सय रुपैयाँ कर्जामध्ये पाँच रुपैयाँभन्दा बढी रकम जोखिममा रहेको देखाउँछ । सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको ०.६८ प्रतिशत छ । अघिल्लो वर्ष पनि एभरेष्टको ०.६६ प्रतिशत मात्रै थियो । यसले एभरेष्ट बैंकको कर्जा व्यवस्थापन तुलनात्मक रूपमा बलियो रहेको पुष्टि गर्छ ।तर, केही बैंकमा निष्क्रिय कर्जा उच्च देखिएको छ । हिमालयन बैंकको ७.९६ प्रतिशत, प्रभु बैंकको ७.९४ प्रतिशत, एनआइसी एसियाको ७.४७ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकको ७.९ प्रतिशत र सिटिजन्स इन्टरनेसनल बैंकको ६.८६ प्रतिशतमा खराब कर्जाको दबाब छ । यी बैंकमा कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको हो ।

खराब कर्जा बढे पनि बैंकहरूले त्यसको जोखिम थेग्न कति रकम छुट्याएका छन् भन्ने विषयलाई कर्जा नोक्सानी व्यवस्थाको अनुपातले देखाउँछ । एभरेष्ट बैंकले आफ्नो निष्क्रिय कर्जाको तुलनामा दुई सय २९ प्रतिशतभन्दा बढी रकम जोखिम व्यवस्थापनका लागि छुट्याएको छ । कुमारी बैंकले एक सय ३६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले एक सय ३५ प्रतिशत र एसबिआई बैंकले एक सय ५४ प्रतिशत कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याएका छन् । तर, केही बैंकमा भने कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०० प्रतिशतभन्दा तल छ । सिटिजन्स इन्टरनेसनल बैंक, एनएमबि, एनआइसी एसिया, माछापुच्छे«लगायतका बैंकमा जोखिम थेग्ने क्षमता तुलनात्मक रूपमा कमजोर छ । यदि खराब कर्जा थप बढेमा यस्ता बैंकलाई थप दबाब पर्न सक्छ ।

विस्तारित हुँदै गएको शिथिल अर्थतन्त्रका कारण बैंकहरूमा खराब कर्जा बढेको हो । उद्योग–व्यवसायले अपेक्षित रूपमा आम्दानी गर्न नसक्दा ऋणीलाई कर्जा तिर्न कठिनाइ हुन्छ । यद्यपि, बैंकहरूले समयमै पर्याप्त रकम छुट्याएर जोखिम व्यवस्थापन गर्न सकेमा सर्वसाधारणको निक्षेप तत्काल जोखिममा पर्दैन । तर, खराब कर्जा लगातार बढिरहेमा बैंकलाई नयाँ कर्जा दिन भने समस्या हुन्छ । बैंकर्स संघका पूर्वअध्यक्ष सुनील केसीले ऋण तिर्ने अवस्था नहुँदा खराब कर्जा बढिरहेको बताए । ‘अहिले ऋणीले तिर्न चाहेर पनि साँवा–ब्याज तिर्न नसकेको देखिन्छ । अर्थतन्त्र चलायमान भयो भने समाधान हुँदै जाने विषय हो,’ उनले भने, ‘हामीले सुरुवातदेखि नै ऋणमा लचकता देखाउँदै नतिर्ने परिपाटी देखाएर पनि यस्तो भएको हो ।’

बैंकले ऋण असुलीमा लचकता देखाउँदा पनि नतिर्ने परिपाटी बढेको हो : सुनील केसी पूर्वअध्यक्ष, नेपाल बैंकर्स संघ

अहिले ऋणीले तिर्न चाहेर पनि साँवा–ब्याज तिर्न नसकेको देखिन्छ । अर्थतन्त्र चलायमान भयो भने समाधान हुँदै जाने विषय हो । हामीले सुरुवातदेखि नै ऋणमा लचकता देखाउँदा नतिर्ने परिपाटी बढेर पनि यस्तो भएको हो ।अहिले त उत्पादनमूलक लगानीका क्षेत्रमा विश्वास नभएर होला, सुनचाँदीमा पैसा गइरहेको छ । बैंकहरू पनि आफ्नो मुख्य व्यवसाय छाडेर खराब कर्जा व्यवस्थापनमै अल्झिनुपरेको छ ।

यसका लागि एसेट म्यानेजमेन्ट कम्पनी खालेर गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले ब्याजदर र तरलताको समस्या छैन । तर, भविष्यमा ब्याजदर बढ्दै गयो भने अवस्था झन् जटिल बन्ने देखिन्छ । उद्योगी–व्यवसायीको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu