साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बैंकले बिगत वर्षहरूमा गरेको सहयोगलाई निरन्तरता दिँदै २ लाख ५० हजार एकेडेमीलाई उपलब्ध गराएको हो।
बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गुरुङ लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकाहरूलाई निरन्तर सहयोग गर्न पाउँदा खुशी लागेको बताए। साथै उनले साहारा क्लबले गरेका उदाहरणीय कार्यको प्रशंसा समेत गरे।
साहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले लुम्बिनी विकास बैंकको सहयोग बालबालिकाहरूको खाजा र खानाका लागि प्रयोग गरिने जानकारी दिए ।
हाल एकेडेमीमा १५ जिल्लाका ३० कठिन परिस्थितिमा रहेका बालबालिकाहरू अध्ययन तथा फुटबल प्रशिक्षणरत छन्। साहारा क्लबले २०६१ सालदेखि बालबालिकाको लालन–पालन, शिक्षा र फुटबल प्रशिक्षण गर्दै आइरहेको छ।
लुम्बिनी विकास बैंक लिमिटेड देशका ७ वटै प्रदेशमा ८९ शाखा कार्यालय र एक विस्तारित शाखासहित ९एक्सटेन्सन काउण्टर० सञ्चालनमा रहेको छ।
बैंकले “निरन्तर सहयात्रा” नाराका साथ आधुनिक एवं सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ र ग्राहकलाई उच्चतम् प्रतिफल दिने उद्देश्यले विशेष बचत योजना कार्यान्वयनमा ल्याएको छ।