भिजिट भिसामा रोकिएन एयरलाइन्सहरूको मनोमानी
सरकारले भिजिट भिसासम्बन्धी कार्यविधि सरल बनाए पनि एयरलाइन्स कम्पनीहरूको मनोमानी भने रोकिएको छैन । यात्रा शंकास्पद भन्दै एयरलाइन्सका कम्पनीले यात्रुहरूलाई बोर्डिङ पास नदिई फर्काउने गरेका छन् ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी अझै पनि एयरलाइन्स कम्पनीले विनाकारण यात्रुहरूलाई फर्काउने गरेको गुनासो आइरहेको बताउँछन् । कसैलाई बोर्डिङ पास नदिने हो भने प्रस्ट कारणसहित लिखित पत्र दिन भनेका छौँ,’ उनले भने, ‘तर कतिपयलाई विनाकारण फर्काउने गरेको गुनासो आइरहेको छ ।’
विभागले गत २६ कात्तिकमै खाडी देश र मलेसियामा उडान गर्ने आठ एयरलाइन्सका प्रतिनिधि बोलाएर अफलोड गर्नुपर्ने अवस्था आए लिखित रूपमा प्रस्ट कारण खुलाउन निर्देशन दिएको हो । विमानस्थलमा नेपाल एयरलाइन्सले सबै एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ । विगतमा एयरलाइन्ससमेतको मिलेमतोमा भिजिट भिसामा विदेश जानेलाई असुली हुनेमा अध्यागमनले सरल कार्यविधि बनाएपछि धेरै हदसम्म रोकिएको छ । जसकारण कतिपयलाई विनाकारण फर्काउने गरेको आरोप लाग्ने गरेको छ ।
गृह मन्त्रालयले गत १४ कात्तिकमा भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि संशोधन गर्दै सरल बनाएको थियो । भिजिट भिसाका विकृति हटाउन भन्दै पासपोर्ट, भिसा र टिकटबाहेक अन्य कागजात नहेर्ने निर्णय गरेको थियो । त्यसयता अध्यागमनले भिजिट भिसामा विदेश जानेलाई प्रस्ट कारणविना रोक्न छाडेको छ । अध्यागमनको सेटिङ बन्द भएपछि एयरलाइन्स कम्पनीहरूले यात्रुलाई दु:ख दिएर फेरि सेटिङ चलाउने प्रयास गरेको स्रोत बताउँछ ।
यसअघि भिजिट भिसाको सेटिङ चलेको समयमा दुईतर्फी टिकट अनिवार्य थियो । भिजिट भिसामा रोजगारी खोज्न बाहिर जानेहरूको हकमा दुईतर्फी टिकटकै पैसा असुल्ने र उनीहरू विमानस्थलमा पुगेलगत्तै त्यो रद्द गरेर एयरलाइन्स र ट्राभल एजेन्सीले ठगी गर्दै आएका थिए । सेटिङ रोकिएपछि यो धन्दा पनि रोकिएको छ । जसकारण उनीहरू सेटिङ चलाउन बोर्डिङ पास नै रोक्न थालेको अध्यागमनका अधिकारीको आशंका छ ।
विगतमा भएको भिजिट भिसाको सेटिङमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलगायतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । दोस्रो चरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतमाथि आयोगले छानबिन गरिरहेको छ ।