Connect with us
Kapilvast Forest

मलाई जिताउनुस् बिजुली, खानेपानी र ग्यासमा ५० % छुटको व्यवस्था गर्छु

२०८२, २६ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु — आम जनता पार्टीका कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद रफिक मियाले आफू निर्वाचित भए नागरिकका आधारभूत सेवामा सहुलियत दिने घोषणा गर्नुभएको छ।

पत्रकारसँगको प्रतिक्रियामा मियाले बिजुली, खानेपानी र ग्यासजस्ता दैनिक उपभोगका सेवामा ५० प्रतिशतसम्म शुल्क छुटको व्यवस्था गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार बढ्दो महँगीका कारण सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएकाले आधारभूत सेवामा राहत दिनु आवश्यक भएको हो।

“जनताको घरघरमा प्रयोग हुने बिजुली, पानी र ग्यासजस्ता सेवामा सहुलियत दिन सकियो भने त्यसले सीधै जीवनस्तर सुधार्न मद्दत गर्छ,” मियाले भन्नुभयो, “हामीले जनताको दैनिकीसँग जोडिएका समस्या समाधानलाई प्राथमिकता दिएका छौँ।”

उहाँले कपिलवस्तु–३ को समग्र विकासलाई केन्द्रमा राखेर विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि र रोजगारीका क्षेत्रमा केन्द्रित कार्यक्रम ल्याएर क्षेत्रको आर्थिक तथा सामाजिक अवस्था सुधार्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो।

मियाले क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोन्नति, विद्यालयमा गुणस्तरीय शिक्षा, कृषि उत्पादनमा वृद्धि र युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो। साथै, स्थानीय पूर्वाधार विकास, सिँचाइ र बजार व्यवस्थापनमा पनि विशेष ध्यान दिने उहाँको भनाइ छ।

उहाँले विगतमा निर्वाचित प्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब जनताले नयाँ सोच र योजनासहितको नेतृत्व रोज्ने विश्वास व्यक्त गर्नुभयो।

मियाले मतदातालाई आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ मा मतदान गर्न अनुरोध गर्दै आफूलाई निर्वाचित गराए क्षेत्रको विकासका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

“जनताको विश्वास जितेर संसद् पुगेपछि कपिलवस्तु–३ को विकासका लागि दृढतापूर्वक काम गर्नेछु,” उहाँले भन्नुभयो, “जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने कामलाई पहिलो प्राथमिकता दिनेछु।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu