सर्लाही –
सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा औषधि म्याद सकिएको पाइएको छ ।समयमै बिरामीका लागि औषधि उपलब्ध गराउन नसक्दा म्याद सकिएको हो । म्याद सकिएको पाइएपछि ठूलो परिमाणको औषधि अस्पताल परिसरमै जलाएर नष्ट गरिएको छ ।अस्पताल स्रोतका अनुसार विभिन्न समयमा आपूर्ति गरिएका औषधि व्यवस्थित भण्डारण र समयमै वितरण नहुँदा लामो समयसम्म गोदाममै थन्किएको हो । म्याद सकिएपछि ती औषधि अस्पताल परिसरको शवगृह क्षेत्र नजिकै जलाएर नष्ट गरिएको छ ।
बिदामा घरमै रहेका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहले भने आफू अस्पतालमा आएको एक महिना मात्र भएको बताउँदै ती औषधि आफ्नो कार्यकालअघिकै भएको बताए । ‘म आएको एक महिना मात्रै भयो, यी औषधि पहिलेदेखिकै हुन्’, उनले भने, ‘मैले कसैलाई औषधि जलाउन निर्देशन दिएको छैन । यदि त्यसो गरेको पाइएमा कारबाही हुन्छ ।’
स्वास्थ्य मापदण्डविपरीत औषधि जलाएर नष्ट गरिएको भन्दै स्थानीयले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता र नियमित अनुगमनको अभाव रहेको भन्दै प्रश्न गरेका छन् ।