वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब
काठमाडौं। चालु आर्थिक वर्ष ०८२र८३ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब २५ अर्ब रहेको व्यापारको आकार यस वर्ष १५.७६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। त्यस्तै, निर्यात ३२.२९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात भएको थियो।
यद्यपि, आयातको उच्च हिस्सा कायम रहँदा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको ८ खर्ब ६१ अर्ब ३८ करोडको तुलनामा १०.९१ प्रतिशत बढी हो।
तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९८ प्रतिशत र निर्यातको हिस्सा १३.०२ प्रतिशत छ। नेपालको आयातनिर्यात अनुपात १४.०३ प्रतिशतले ऋणात्मक देखिएको छ। तुलनात्मक रुपमा कुल व्यापारमा आयातको हिस्सा गत वर्षको ७ महिनाको तुलनामा यस वर्ष ७ महिनामा १।८३ प्रतिशतले ऋणात्मक छ।
यसले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको संकेत गर्छ। पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी, विद्युतीय उपकरण तथा कच्चा पदार्थको उच्च आयातले व्यापार घाटा चर्काइरहेको छ।
पछिल्ला वर्षहरूमा निर्यात प्रवर्द्धनका विभिन्न नीति तथा सहुलियत कार्यक्रम लागू भए पनि व्यापार घाटाको संरचनामा उल्लेखनीय सुधार हुन सकेको छैन।