नेपाल नयाँ राजनीतिक दिशाप्रति अग्रसर: अध्यक्ष यादव
काठमाडौँ — जनता लोकतान्त्रिक पार्टी नेपाल ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामप्रति प्रतिक्रिया जनाउँदै नेपाली जनताले परिवर्तन र नयाँ राजनीतिक दिशाप्रति विश्वास व्यक्त गरेको जनाएको छ।
पार्टीका अध्यक्ष अशोक कुमार यादव द्वारा जारी विज्ञप्तिमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाइ बहुमत दिँदै परिवर्तनको स्पष्ट संकेत दिएको उल्लेख गरिएको छ। पार्टीले उक्त उपलब्धिप्रति बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ।
विज्ञप्तिमा परम्परागत दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायतका दलहरूमा देखिएको सत्ता स्वार्थ, अवसरवाद र अलोकतान्त्रिक प्रवृत्तिप्रति जनताले असन्तुष्टि व्यक्त गरेको स्पष्ट सन्देश आएको पनि उल्लेख गरिएको छ।
त्यस्तै वर्तमान राजनीतिक परिस्थितिका कारण तराई–मधेश क्षेत्रका जनतामा राज्यबाट पुनः विभेद हुन सक्ने चिन्ता देखिएको भन्दै पार्टीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, थारू लगायत उत्पीडित तथा सीमान्तकृत समुदायलाई नडराई आफ्नो अधिकार, पहिचान र सम्मानका लागि एकजुट हुन आह्वान गरेको छ।
पार्टीले सबै उत्पीडित तथा अवसरबाट वञ्चित समुदायहरूको हक, अधिकार र सम्मानका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि जनाएको छ। साथै संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने कुनै पनि गतिविधि वा कदमविरुद्ध सशक्त रूपमा आवाज उठाइने विज्ञप्तिमा उल्लेख गरिएको छ।