अस्पतालको ३८ लाख घोटालाको छानबिन गर्न राजमोको माग
कपिलवस्तु–
राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिले शिवराज नगरपालिकालाई तीन महत्वपूर्ण सार्वजनिक सरोकारका विषयमा तत्काल पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। शिवराज आधारभूत अस्पतालमा भएको भनिएको ३८ लाख ५६ हजार रुपैयाँको अनियमितता, सुकुम्बासी व्यवस्थापनमा देखिएको अन्योल तथा जवाई सिंचाइ आयोजनाको ढिलाइले स्थानीय जनजीवनमा परेको असरबारे पार्टीले नगर प्रमुखलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएको हो।
नगर प्रमुखलाई सम्बोधन गरिएको पत्रमा राष्ट्रिय जनमोर्चाले सार्वजनिक संस्थामाथि उठेका प्रश्नहरूको समयमै जवाफ नआउँदा नागरिकमा निराशा र अविश्वास बढ्ने उल्लेख गरेको छ। स्वास्थ्य, भूमि व्यवस्थापन र कृषि जस्ता संवेदनशील क्षेत्रमा देखिएको ढिलासुस्तीले नगरपालिकाको कार्यक्षमतामाथि प्रश्न उठेको जनमोर्चाको भनाइ छ।
अस्पतालको रकम हिनामिनाबारे छानबिनको माग
ध्यानाकर्षण पत्रमा शिवराज आधारभूत अस्पतालमा करिब एक महिनाअघि ३८ लाख ५६ हजार रुपैयाँ हिनामिना भएको विषय अझै स्पष्ट नभएको उल्लेख गरिएको छ। सार्वजनिक स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आर्थिक अनियमितताको आरोप लाग्दा पनि सत्यतथ्य सार्वजनिक नभएको भन्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।
पत्रमा चेकमा मिलेमतो, किर्ते तथा आर्थिक दुरुपयोगको आशंका व्यक्त गर्दै दोषी प्रमाणित हुने जोसुकैलाई पदमुक्त गरी कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख छ। साथै, हिनामिना भएको रकम असुलउपर गर्न अस्पताल व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने सुझाव पनि दिइएको छ।
सुकुम्बासी व्यवस्थापनमा स्पष्ट नीति आवश्यक
राष्ट्रिय जनमोर्चाले सुकुम्बासी समस्या दीर्घकालीन र जटिल विषय भएकाले केवल सूचना जारी गरेर वा हटाउने शैलीमा समस्या समाधान नहुने जनाएको छ। वर्षौंदेखि बसोबास गरिरहेका भूमिहीन नागरिकको समस्या संवेदनशील ढंगले समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टीले स्पष्ट नीति, व्यापक छलफल र वैकल्पिक व्यवस्थाको माग गरेको छ।
पत्रमा विद्यालय, मन्दिर, वडा कार्यालय, प्रहरी चौकी तथा हटबजार क्षेत्रका सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। तर, यस क्रममा गरिब तथा भूमिहीन नागरिकमाथि अन्याय नहुने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
जवाई सिंचाइ आयोजनाको ढिलाइले किसान चिन्तित
ध्यानाकर्षण पत्रको तेस्रो बुँदामा शिवराज नगरपालिका वडा नं. ३ र ४ क्षेत्रमा सञ्चालित जवाई सिंचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको उल्लेख गरिएको छ। खैरिपुरदेखि न्यौपारी, सेमरी र भडेखोर क्षेत्रका किसानहरूले यस वर्ष समयमै सिँचाइ सुविधा नपाउने चिन्ता व्यक्त गरेको जनमोर्चाले जनाएको छ।
ठेकेदारले बाँध तथा गेटसमेत भत्काएर काम अधुरो छाडेकाले वर्षायामअघि नै आवश्यक मर्मत तथा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ। अन्यथा धान रोपाइँको समयमा किसानले ठूलो समस्या भोग्नुपर्ने चेतावनी पत्रमा उल्लेख छ।
जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न
राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष केर सिंह पुन मगर र जिल्ला सचिव केर सिंह बँदेले हस्ताक्षर गरेको उक्त पत्रमा सार्वजनिक सरोकारका विषयलाई बेवास्ता गरिए नागरिक असन्तुष्टि अझ बढ्ने उल्लेख गरिएको छ।
स्थानीय तहले पारदर्शिता, संवेदनशीलता र उत्तरदायित्वका साथ काम गर्नुपर्ने सन्देश दिँदै जनमोर्चाले नगरपालिकालाई यथाशीघ्र ठोस निर्णय र कार्यान्वयनमा उत्रिन आग्रह गरेको छ। स्थानीय नागरिकले पनि अस्पताल, भूमिहीन समस्या र सिंचाइ जस्ता विषयमा समयमै समाधान हुने अपेक्षा गरेका छन्।