जनता माविको व्यवस्थापन समिति गठन
कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बलुहवास्थित जनता माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
वडाध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयको अध्यक्षता तथा शिक्षा अधिकृत हरिहर बेल्वासेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
अभिभावकहरूको सर्वसम्मत सहमतिका आधारमा गठन गरिएको समितिमा फाराम अहिर, गुडिया पासी, विरेन्द्र कुमार यादव र रामबेलास धोबी चयन हुनुभएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी व्यवस्थापन, सुशासन कायम तथा विद्यालयको समग्र विकासका लागि व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
नवनिर्वाचित समितिले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा नवगठित समितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।