Connect with us
Kapilvast Forest

‘मिसन १६ खर्ब’ सफल बनाउन अर्थमन्त्रीको निर्देशन

२०८३, २४ असार बुधबारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशकलाई चालु आर्थिक वर्षको करिब १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारीपूर्वक र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।

भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मंगलबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र कर तिर्ने वातावरण सिर्जना गर्न विशेष ध्यान दिन आग्रह गरे।

मन्त्री वाग्लेले व्यावसायिक वातावरण र करदाताको मनोबल उच्च राख्दै राजस्व लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए। लक्ष्य पूरा गर्न मन्त्रालयबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने उनको भनाइ थियो।

उनले भन्सार र राजस्व प्रशासनलाई सूचना प्रविधिमा आधारित, छिटोछरितो र पारदर्शी बनाउने दिशामा काम गर्न पनि निर्देशन दिए। राजस्व प्रणाली प्रभावकारी बने मुलुकको आन्तरिक आम्दानी बढ्ने, बाह्य ऋणमा निर्भरता घट्ने र विकासका लागि आफ्नै स्रोत परिचालन गर्न सकिने उनले बताए।

मन्त्री वाग्लेले मातहतका कार्यालयमा अनियमिततामा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गर्न पनि निर्देशन दिए।

प्रशासनिक क्षमताका आधारमा उत्कृष्ट मानिएका सहसचिवलाई राजस्व प्रशासनको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै उनले आगामी ६ देखि ८ महिनाभित्रै कार्यसम्पादनको नतिजा देखिने विश्वास व्यक्त गरे।

मन्त्रिपरिषद्को असार १८ गतेको निर्णयअनुसार यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य अर्थ मन्त्रालयमा सरुवा भएका थिए। असार २२ गते मन्त्रालयमा हाजिर भएपछि उनीहरूलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको थियो।

नयाँ जिम्मेवारी पाएका तीनै अधिकारीले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै मन्त्रीले दिएको निर्देशन इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu