एभरेस्ट बैंक चन्द्रौटा शाखाद्वारा बालज्योति माविलाई २० थान पंखा सहयोग
पुनहरी घिमिरे, कपिलवस्तु-
कपिलवस्तुको चन्द्रौटामा अवस्थित एभरेस्ट बैंक लिमिटेडले बढ्दो गर्मीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिका–८, बिसुनपुरमा रहेको बालज्योति माध्यमिक विद्यालयलाई २० थान पंखा सहयोग गरेको छ।
विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच चन्द्रौटा शाखा प्रमुख दीप कुमार चौधरीले उक्त पंखाहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । विद्यार्थीहरूको अध्ययन-अध्यापनलाई सहज बनाउने उदेश्यले गरिएको यस सहयोगबाट विशेषगरी अत्यधिक गर्मीका कारण प्रभावित विद्यार्थीहरूलाई राहत पुग्ने बताईएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मूलचन्द्र यादवले बैंकद्वारा प्रदान गरिएको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “गर्मीका कारण अध्ययनमा देखिने असहजता अब कम हुने अपेक्षा गरेका छौं, जसले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्नेछ,” उहाँले भन्नुभयो।
यादवले एभरेस्ट बैंकको उक्त पहललाई प्रशंसनीय र अनुकरणीय भन्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो । यस्ता सहयोगले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समग्र शैक्षिक विकासमा टेवा पुर्याउने यादव को भनाई छ ।