ट्रम्प र इरानको धम्कीले पश्चिम एसिया तनावग्रस्त, वार्ता र हमलाको तयारी सँगसँगै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति क्याम्प डेभिडमा मन्त्रिपरिषद्को बैठक गरेका छन्। यस क्रममा उनले इरानबारे बोल्दै आफूलाई अब इरानमाथि भरोसा नरहेको बताएका छन्।
क्याम्प डेभिडको बैठकमा ट्रम्पले भने, ‘इरान झुट बोल्छ, गलत जानकारी दिन्छ। कुराकानी गर्ने कुरा त गर्छ, तर बारम्बार आफ्नो वाचाबाट पछि हट्छ।’
यद्यपि, ट्रम्पले दुई देशबीच अझै पनि कुराकानी भइरहेको स्पष्ट पारेका छन्। उनले अमेरिकाको तर्फबाट स्टिभ विटकफ, जेडी भ्यान्स, मार्को रुबियो र जेरेड कुश्नरले वार्ता सम्हालिरहेको जानकारी दिए।
उता, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमा ठूलो हमलाको तयारी गरिरहेका खबर सार्वजनिक भएको छ । सीबीएस न्युजको रिपोर्टअनुसार, यस सप्ताहन्तमा विद्युत् प्लान्ट र तेल रिफाइनरीहरूलाई निसाना बनाउने गरी अमेरिकाले तयारी गरिरहेको छ ।
यद्यपि, ट्रम्पले यसलाई अन्तिम स्वीकृति दिइसकेका छैनन्। दुवै देशबीच हमलालाई लिएर समन्वय भइरहेको छ र क्याम्प डेभिडको क्याबिनेट बैठकमा पनि यस योजनाबारे छलफल भएको थियो।
के भन्छ इरान ?
उता, इरानका एक वरिष्ठ अधिकारीले यदि अमेरिकाले हमला गरेमा त्यसको पूर्ण तयारीका साथ जवाफ दिइने चेतावनी दिएका छन्।
उनका अनुसार, जवाफी कारबाहीमा अमेरिका र इजरायलका महत्त्वपूर्ण सैन्य अखडा र पूर्वाधारहरूलाई निसाना बनाइनेछ।
तर, अमेरिकाको तर्फबाट सम्भावित नयाँ हमलाको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको छैन। रक्षा मन्त्रालयले पनि यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
पेन्टागनले इरान युद्धका क्रममा प्रयोग भएका मिसाइलहरूको भण्डार पुनः भर्न १८.२ अर्ब डलरको आपतकालीन कोष माग गरेको छ।
होर्मुज स्ट्रेटमा असर
अमेरिका-इरान तनावको असर समुद्री व्यापारमा स्पष्ट देखिन थालेको छ। सिप ट्र्याकिङ कम्पनी केप्लरका अनुसार, होर्मुज स्ट्रेट भएर जाने जहाजहरूको सङ्ख्या एकै दिनमा ७७ प्रतिशतले घटेको छ। बुधबार २२ वटा जहाज गुज्रिएकोमा बिहीबार यो सङ्ख्या घटेर जम्मा ५ मा सीमित भएको छ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकालाई चेतावनी दिँदै यदि आफ्ना दक्षिणी बन्दरगाहहरूको समुद्री नाकाबन्दी जारी रहेमा विश्वको ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने बताएको छ। यस्तो अवस्थामा होर्मुज स्ट्रेटमाथिको नियन्त्रण अझ कडा पारिने र अन्य समुद्री मार्ग पनि प्रभावित हुन सक्ने इरानले सङ्केत गरेको छ।
अल जजिराका अनुसार, इरानको इसारा बाब अल-मन्देब जलसन्धि र गल्फ अफ एडेनतिर हुन सक्छ, जहाँ इरान समर्थित हुथी विद्रोहीहरूको प्रभाव छ।
हुथी विद्रोहीहरूले बाब अल-मन्देब स्ट्रेट भएर जाने जहाजहरूसँग कुनै शुल्क नलिइने बताएका छन्। मिडियामा आएका शुल्क असुल्ने दाबीलाई खारेज गर्दै समूहको मानवीय अपरेसन समन्वय केन्द्रले भनेको छ, ‘बाब अल-मन्देबबाट गुज्रिन पूर्ण रूपमा निःशुल्क छ। हाम्रोतर्फबाट प्रतिबन्ध नलागेका जहाजहरू पहिले जस्तै सुरक्षित रूपमा आवतजावत गर्न सक्छन्।’
(एजेन्सीहरूको सहयोगमा)