Connect with us

अब ई–कमर्स व्यवसाय अनिवार्य दर्ता गर्नुपर्ने, नत्र कारबाही हुने

२०८३, ३ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । सरकारले अनलाइन तथा विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने व्यवसायीलाई अनिवार्य रूपमा विद्युतीय प्लेटफर्ममा सूचीकृत हुन निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युतीय व्यापार अर्थात् ई–कमर्स सञ्चालन गर्ने व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरी विभागमा सूचीकृत हुन आग्रह गरेको हो ।

विभागका अनुसार वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट तथा सामाजिक सञ्जालका मार्केटप्लेसलगायत विद्युतीय माध्यमबाट वस्तु वा सेवाको कारोबार गर्ने प्रणाली ई–कमर्सअन्तर्गत पर्छ । त्यस्ता माध्यमबाट कारोबार गर्ने व्यवसायीले व्यवसाय सञ्चालन गर्नुअघि अनिवार्य रूपमा विद्युतीय प्लेटफर्म स्थापना गरी विभागको पोर्टलमा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागले पछिल्लो समय विभिन्न विद्युतीय माध्यमबाट कारोबार गर्ने क्रममा उपभोक्तालाई ठगी गर्ने, ठगी तथा गुनासो बढिरहेको भन्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सूचनामा विद्युतीय माध्यम तथा प्लेटफर्मबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको प्रक्रिया पूरा गरी विभागमा अनिवार्य रूपमा सूचीकृत हुन भनिएको छ । साथै, प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न विभागले सचेत गराएको छ ।

विभागले सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्मबाट व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

उपभोक्ताको अधिकार संरक्षण, विद्युतीय कारोबारलाई व्यवस्थित बनाउने तथा अनलाइन व्यापारमा देखिएका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले विभागले यस्तो सूचना जारी गरेको जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu