तीज मिलनको १ लाख बाढी पीडितलाई दिन्छौ:- अध्यक्ष खान
कपिलवस्तुको शिवराज नगरपालिका–४ ले तीज मिलन कार्यक्रमका लागि विनियोजित बजेट बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परेका नागरिकको राहतका लागि सहयोग गर्ने निर्णय गरेको छ। वडाले बिनियोजन गरेको एक लाख बजेट बाढी पिडितलाई दिने गरि वडाले निर्णय गरेको छ ।
गत वर्षझैँ यस वर्ष पनि वडा नं. ४ मा तीज मिलन कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिएको थियो। तर, हालै रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरिएको वडा अध्यक्ष नसिम अहमद खानले बताउनुभयो।
वडा अध्यक्ष खानका अनुसार खुसीको पर्व तीज मनाउनुभन्दा विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिनु अहिलेको आवश्यकता भएकाले यस्तो निर्णय गरिएको हो।
वडाले निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोगका लागि सम्पूर्ण वडावासीमा आग्रह गरेको छ। विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको वडा कार्यालयले जनाएको छ।