रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो : उपेन्द्र यादव
जनता समाजवादी पार्र्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएपछि देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन । कपिलवस्तुको तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजनामा आयोजित कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रास्वपा सरकार गठन भएपछि भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र परिवर्तन भएको, तर जनताले अपेक्षा गरेको सुशासन अझै प्राप्त गर्न नसकेको बताएका छन ।
“निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन । तर, नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,” यादवले भने, “बहुमत पाएपछि विकास र सुशासन हरायो । अहिले पनि देशमा कुशासन कायम छ र मुलुक आर्थिक संकटतर्फ गइरहेको छ ।” यादवले गरिब तथा निम्न आय भएका जनतामाथि करको भार थपिएको आरोप लगाउँदै कृषि, उद्योग तथा पर्यटन क्षेत्रसमेत कमजोर बन्दै गएको बताए । मुलुक आर्थिक मन्दीको जोखिममा रहेको उनको भनाइ थियो ।
संघीयताको विषयमा बोल्दै यादवले विगतका विभिन्न आन्दोलनको बलमा संघीयता स्थापना भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए । उनले संघीयतालाई कमजोर बनाउँदै केन्द्रिकृत शासन प्रणाली अवलम्बन गर्न खोजिएको आरोप लगाए । उनले पहिचानका आधारमा प्रदेशको सीमांकन, जनसंख्याका आधारमा प्रतिनिधित्व लगायतका माग पूरा नभएसम्म जसपा नेपालले आफ्नो राजनीतिक संघर्ष जारी राख्ने बताए ।
यादवले विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पछाडि लागेर सत्ताको खेलमा सहभागी हुनु आफ्नो पार्टीको ठूलो गल्ती भएको समेत स्वीकार गरे । अब भने जनताको अधिकार, पहिचान र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा जलवायु परिवर्तनको विषयमा समेत धारणा राख्दै अध्यक्ष यादवले विकसित तथा शक्तिशाली राष्ट्रहरूले गरेको वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको उच्च जोखिममा परेको बताए। विकसित मुलुकबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड तथा हरितगृह ग्यासका कारण हिमनदी पग्लिने क्रम तीव्र भएको र वातावरणीय सन्तुलनमा गम्भीर असर परेको उनले बताए । नेपालले जलवायु संकटबाट भोग्नुपरेको क्षतिका लागि विकसित राष्ट्रहरूसँग वातावरणीय न्यायको माग गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल, केन्द्रीय सचिव कमरुद्दिन राई, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य अम्बिका काप्ले, केन्द्रीय सदस्य अब्दुल रासिदलगायतका नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए ।