Connect with us
Kapilvast Forest

मर्यादपुर नाकामा नागरिक सहायता कक्ष स्थापना

२०८३, २१ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु — दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तुको दोस्रो प्रमुख सीमा नाका मर्यादपुर,खुनुवामा नागरिक तथा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ।
चाडपर्वका समयमा भारतबाट नेपाल फर्किने तथा नेपालबाट आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले उनीहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

मर्यादपुर प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र ब स नि) मिनबहादुर देउवाका अनुसार सीमा नाकाबाट आवतजावत गर्ने नागरिक तथा यात्रुलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षा सहयोग उपलब्ध गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको हो।

 यात्राका क्रममा कुनै समस्या, गुनासो वा असहजता भएमा सहायता कक्षमार्फत तत्काल आवश्यक समन्वय र सहयोग गरिने उहाँले बताउनुभयो।
चाडपर्वको समयमा सीमा नाका तथा सडक क्षेत्रमा यात्रु ठगी, चोरी, सामान हराउने, सवारीसाधनमा समस्या तथा अन्य सुरक्षा चुनौती आउन सक्ने भएकाले नागरिक सहायता कक्षलाई प्रभावकारी रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यस वर्ष दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लाका नौ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
 सीमा क्षेत्रमा मर्यादपुरसहित कृष्णनगर र चाकरचौडामा तथा सीमा बाहिर तौलिहवा, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा, बहादुरगन्ज र पकडीमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। 

विशेषगरी भारतबाट दसैँ मनाउन घर फर्किने नेपालीको संख्या बढ्ने भएकाले सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ। सहायता कक्षमा प्रहरी तथा ट्राफिक प्रहरीको टोली परिचालन गरी यात्रुलाई आवश्यक जानकारी र सहजीकरण उपलब्ध गराइनेछ। 
प्रहरीले कुनै समस्या परेमा नजिकैको सहायता कक्ष वा सुरक्षाकर्मीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu