Connect with us
Kapilvast Forest

हरियालीबाट समाजसेवाको सन्देश फैलाउँदै भुसाल दम्पती

२०८३, २६ आश्विन सोमबारमा प्रकाशित

कृष्ण पौडेल, कपिलवस्तु ।

समाज परिवर्तनका लागि ठूलो पद, प्रतिष्ठा वा स्रोतसाधन नै चाहिन्छ भन्ने छैन। समाजप्रतिको जिम्मेवारीबोध, सेवाभाव र केही सकारात्मक काम गर्ने इच्छाशक्ति भए सानो प्रयासले पनि समाजमा ठूलो सन्देश दिन सक्छ। यही सोचलाई व्यवहारमा उतार्दै अघि बढिरहेका छन्, कपिलवस्तुको विजयनगर गाउँपालिका-६ का युवा समाजसेवी तुलसीराम भुसाल र उनकी श्रीमती कल्पना भुसाल।

समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका भुसाल दम्पतीले यसपटक मन्दिर तथा विभिन्न सार्वजनिक स्थलमा ६० वटा बिरुवा रोपेर वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिएका छन्। उनीहरूले धुपी, चाइना डल, सिजियम र अशोकलगायत विभिन्न प्रजातिका बिरुवा रोपेका हुन्। सार्वजनिक स्थललाई हरियाली, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले गरिएको यो पहलले समाजप्रतिको उनीहरूको जिम्मेवारीबोधलाई झल्काएको छ।

तुलसीराम र कल्पनाका लागि समाजसेवा देखाउनका लागि गरिने काम होइन, समाजसँग जोडिएर जिम्मेवारी पूरा गर्ने माध्यम हो। उनीहरू आफूले सकेको योगदान समाजलाई दिन पाउनु नै खुसीको विषय भएको बताउँछन्।

समाजका लागि सकेको योगदान दिन पाउनु नै हाम्रो खुसी हो। परिवर्तनको अपेक्षा अरूबाट मात्रै गरेर हुँदैन, राम्रो कामको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने हाम्रो सोच हो, भुसाल दम्पती भन्छन्।

उनीहरूको विचारमा समाज परिवर्तनका लागि हरेक व्यक्तिले आफ्नो ठाउँबाट सानो भए पनि योगदान दिन सक्छ। कसैले वातावरण संरक्षणमा सहयोग गर्न सक्छन्, कसैले सार्वजनिक स्थलको सरसफाइमा जुट्न सक्छन् त कसैले असहाय र आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्न सक्छन्। यस्ता साना प्रयासले नै समाजमा सकारात्मक परिवर्तनको आधार तयार गर्ने उनीहरूको विश्वास छ।

बिरुवा रोप्ने काम सामान्य देखिए पनि यसको महत्त्व दीर्घकालीन छ। बढ्दो वातावरणीय चुनौतीका बीच सार्वजनिक स्थलमा बिरुवा रोप्नुले हरियाली विस्तार गर्नुका साथै वातावरणलाई स्वच्छ र सुन्दर बनाउन सहयोग पुर्‍याउँछ। तर बिरुवा रोप्नु मात्रै पर्याप्त हुँदैन, तिनलाई हुर्काउनु र संरक्षण गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।

बिरुवा रोप्नु सुरुवात हो, त्यसलाई हुर्काउनु र जोगाउनु अझ महत्त्वपूर्ण जिम्मेवारी हो, कल्पना भन्छिन्। रोपिएका बिरुवाको नियमित हेरचाह हुन सके मन्दिर तथा सार्वजनिक स्थलको सौन्दर्य बढ्नुका साथै भावी पुस्तालाई हरियाली र स्वच्छ वातावरण हस्तान्तरण गर्न पनि सहयोग पुग्ने उनको विश्वास छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu