Connect with us

डीडीसीका तत्कालिन महाप्रवन्धक संजीव झासहित आठ जना पक्राउ, भ्रष्टाचारको आरोप

२०८३, १५ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौँ । दुग्ध विकास संस्थानमा गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले तत्कालीन महाप्रबन्धक संजीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्र इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टमा कार्यरत विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रको इन्चार्ज तथा हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट मनहरि शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्र इन्चार्ज र हाल काठमाडौँ दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्ट रामकेवल राय तथा भरपाई पदका बागमती धुलो दूध कारखाना, हेटौंडामा कार्यरत जितेन्द्रकुमार यादवलाई पक्राउ गरेको छ ।

यस्तै, डेरी ब्वाइ पदमा कार्यरत नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज नविन राय यादव, दैनिक परिश्रमिक पदमा माडी चिस्यान केन्द्रमा कार्यरत शिव नन्दन राय र जुनियर टेक्निकल असिस्टेन्ट, माडी चिस्यान केन्द्रका इन्चार्ज विख बहादुर भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ ।

उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपियाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनीहरु पक्राउ परेका हुन् ।