सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेड, दरबारमार्ग, काठमाडौंबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा ड्रिंक्स एन्ड बेभरेजेजमा ७ प्रतिशतसम्म छुट पाउनेछन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन तथा ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले समयसमयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । ग्राहकले डिजिटल कारोबार गर्दा प्राप्त गर्न सक्ने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।
बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यस्तै, नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ ।
यसैगरी, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
बैंकले क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।