Connect with us
Kapilvast Forest

पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु, आरोपित पक्राउ

२०८३, ९ मंसिर मंगलवारमा प्रकाशित

NewsCenterNepal-

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, खहरेस्थित खहरे सिसुवामा कुटपिटबाट एक जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत २०८३ कात्तिक ६ गते साँझ करिब ६ बजेर ७ मिनेटमा स्थानीय ४५ वर्षीय नन्दलाल बजगाईँ र ४० वर्षीय नारायण लम्तरीबीच विवाद तथा झैझगडा भएको थियो । सोही क्रममा लम्तरीले बजगाईँलाई दाउरासमेत प्रयोग गरी टाउकोलगायत शरीरका विभिन्न भागमा पटक–पटक प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै प्रहरीले घाइते बजगाईँलाई उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल, तानसेन पठाएको थियो । तर, उपचारकै क्रममा सोही दिन साँझ करिब ८ बजेर ३० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका नारायण लम्तरीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी खोजतलास सुरु गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंसिर ७ गते साँझ करिब ६ बजेर १५ मिनेटमा रैनादेवी छहरा गाउँपालिका–४, छहराबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लम्तरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj