नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले गर्यो ६ स्रष्टालाई सम्मान
काठमाडौं – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । सो संस्थाले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा ६ जना स्रष्टाहरुलाई सम्मानित गरेको हो ।
महाकाव्यकार तथा वरिष्ठ साहित्यकार मनिराज जोशीद्वारा स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज जोशी बाङमय पुरस्कार २०७५’ बाट पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, सोही पुरस्कार २०७६ बाट वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई पुरस्कृत भए ।
उनीहरु दुवैलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गरे। सोहीअनुसार गोदावरी प्रतिभा पुरस्कार २०७५ बाट पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा, खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार २०७५ बाट प्रा.डा. रामचन्द्र भट्ट, शास्त्री देवराज आचार्य पुरस्कार २०७५ बाट भरतराज पौडेल र खडगबहादुर प्रतिभा पुरस्कार २०७५ बाट साहित्यकार तथा पत्रकार लक्की चौधरी पुरस्कृत भए ।
पुरस्कृत हुने स्रष्टालाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले संयुक्तरुपमा पुरस्कृत गरे । चारवटै पुरस्कारको राशी जनही १० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दलाई ८४औं वसन्त टेक्दै गरेको पूर्वसन्ध्यामा संस्थाले अभिनन्दित गरेको छ ।