पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास
एजेन्सी –अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हट्नु भएको छ । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बन्नु भएको थिया ।विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसपछि गएराति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।
पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य हुन्छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुन्थ्यो । तर अविश्वासको प्रस्तावमा १७४ मत पर्यो ।अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताउनु भयो । उहाँले १० अप्रिल १९७३ मा नै पाकिस्तानको संविधानलाई संसदले पारित गरेको स्मरण गराउनु भयो । उहाँले भन्नु भयो , ‘पुरानो पाकिस्तानमा तपाईंहरुलाई स्वागत छ । कुनै पनि कुरा असम्भव छैन ।’