अब आचारसंहिता पढ्छु र अरू पत्रकारलाई पनि पढाउन ‘क्याम्पेन’ गर्छु:धमला
काठमाडौं । पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा नेपाल प्रेस काउन्सिलमा मौखिक बयान दिएका छन् । काउन्सिलको आचारसंहिता अनुगमन समितिले करिब एक घण्टा उनको बयान लिएको हो ।
स्रोतका अनुसार धमलाले विमानभित्रको भएको घटनालाई लिएर दुख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको भ्रमणका विषयमा जनतालाई छिटो सुसूचित गर्नका लागि आफूले विमानभित्र लाइभ गरेको भन्दै उनले यदि आफ्नो क्रियाकलापबाट विमानका कर्मचारीहरूलाई अप्ठेरो परेको भए क्षमा याचना गर्ने बताए ।धमलाले पत्रकार आचारसंहिता आफूले राम्ररी नबुझेको स्वीकार गरे ।
उनले भने, ‘मैले आचारसंहिता अध्ययन गरेको रहन्छु । अब राम्ररी पढेर यसलाई मनन गर्छु र अरू पत्रकारहरूलाई पनि आचार संहिता अध्ययन गराउन क्याम्पेन नै चलाउँछु ।’
नियामक निकायका रूपमा काउन्सिलले आफूमाथि गरेको निगरानीलाई सकारात्मक रूपमा लिएको धमलाले बताए । यसले पत्रकारिता जगतलाई शुद्धीकरण गर्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरूले धमलासँग सोधपुछ गरेका थिए । बयान दिन धमला १२ बजेतिर एक्लै काउन्सिल पुगेको स्रोतले बतायो ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानभित्र धमलाले टेलिभिजन लाइभ गर्ने नाममा कर्मचारीमाथि हुल हुज्जत गरेका थिए ।
त्यस विषयमा काउन्सिलले धमलासँग लिखित स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै आज मौखिक बयान लिएको हो । काउन्सिलले थप अध्ययन र छलफल पश्चात् धमलाका बारे निर्णय लिने जनाएको छ ।