Connect with us
Kapilvast Forest

६९५ मतदान केन्द्र अति संवेदनशील

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

 

मोरङ – स्थानीय तह निर्वाचनमा प्रदेश १ का १ हजार ८ सय ७७ मतदानस्थलका ४ हजार ५१ मतदान केन्द्रमध्ये ३ सय २१ मतदानस्थलका ६ सय ९५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील छन् । प्रदेशका १४ वटै जिल्लाका सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाअनुसार सुरक्षाको दृष्टिकोणले यस प्रदेशस्थित ८ सय ४९ मतदानस्थलका १ हजार ९ सय १६ मतदान केन्द्र संवेदनशील र ७ सय ७ मतदानस्थलका १ हजार ४ सय ४० मतदान केन्द्र सामान्य छ ।

 

मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको छ । मतदानकेन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन् ।

 

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचन सुरक्षा चुनौतीमा निर्वाचनविरोधी दल, खुला सिमाना, दलबीचको द्वन्द्व, उम्मेदवारबीचको अन्तरद्वन्द्वलगायत रहेको बताए । ‘अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरिरहेको र त्यहाँ अपनाउनु पर्ने सुरक्षा सतर्कताको बारेमा नोटिस गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘मतदातालाई मतदान केन्द्रसम्म सहज रुपमा पुर्‍याउने सुरक्षा योजना बनाइरहेका छौं ।’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले यस प्रदेशस्थित खुला सिमाना, भौगोलिक विकटता, सहज रूपमा सवारीसाधानको अवागमन नहुने, सुरक्षाकर्मीलाई हिँडेरै मतदान केन्द्रसम्म जानुपर्ने निर्वाचन सुरक्षा चुनौती रहेको बताए । उनले भने, ‘सुरक्षित, स्वतन्त्र र सहज रूपमा निर्वाचन सम्पन्न गराउनका लागि अहिले जिल्ला जिल्लामा सुरक्षा योजनाहरू बनिरहेको छ । एकीकृत सुरक्षा योजना निर्माण गरेर अघि बढ्छौं ।’ राईले कुन जिल्ला र कुन मतदानस्थलमा कति सुरक्षाकर्मी परिचालन गर्ने अहिले निर्धारण भएर आइनसकेको बताए ।

जिल्लागत रुपमा मोरंगका ४९ वटा मतदानस्थलको १ सय २४ मतदानकेन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा यहाँ सबैभन्दा बढी ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । तेह्रथुम र ओखलढुंगामा अतिसंवेदनशील मतदानस्थल छैन । कूल ७९ मतदानस्थलका १ सय ५० मतदानकेन्द्रमध्ये ६ मतदानस्थलका ८ मतदानकेन्द्र संवेदनशील र ७३ मतदानस्थलका १ सय ४२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले सामान्य रहेको प्रदेश प्रहरी प्रवक्ता एसपी राईले बताए । झापाका ५१, सुनसरीका ८०, धनकुटाका १५, उदयपुरका १२, इलामका २९ मतदान केन्द्र अतिसंवेदनशील छन् । यस्तै, पाँचथरका २७, भोजपुरका १८, खोटाङका ३५, ताप्लेजुङका २३, संखुवासभाका ७ र सोलुखुम्बुका ११ अतिसंवेदनशील मतदान केन्द्र अतिसंवेदनशील रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj