Connect with us
Kapilvast Forest

हुम्लाको मासपुर गाउँबाट मतदान केन्द्र पुग्न १० घण्टा !

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

 

 

हुम्ला-हुम्लाको ताजाकोट गाउँपालिका ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्न १० घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता छ ।मतदान केन्द्र टाढा भएकै कारण धेरै मतदाता मतदानमा सहभागी नहुने मासपुरका टेकबहादुर रोकायाले बताउँछन् ।

 

मासपुर गाउँवासीका लागि वडा कार्यालय नजिकैको कैलाश आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुग्न पूरा एक दिन लाग्छ । स्थानीय टेकबहमादुर रोकाया भन्छन्, ‘अब एक दिन पुग्न, भोट हालेर बेलुका घर आइपुगिदैन अनि अर्कोदिन फिर्ता हुने समय जोड्दा त तीन दिन लाग्ने भयो । अनि कसरी जानु भोट हाल्न ?’

मासपुर गाउँमा २३ घरधुरी छन् । गाउँको जनसंख्या १०३ छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना मतदाता रहेका वडा सचिव विष्णुलाल सार्कीले बताए । ‘त्यसमध्ये पनि ६० वर्षमाथिका १० मतदाता छन्,’ उनले भने ।

 

वडा कार्यालयले मतदान केन्द्र टाढा रहेको जानकारी जिल्ला निर्वाचन कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यलय हुम्लालाई पनि जानकारी गराएको थियो । तर, अहिलेसम्म पनि गाउँमा मतदान केन्द्र स्थापना गर्न कतैबाट पनि पहल नभएको वडा कार्यालयले जनाएको छ ।

मतदान केन्द्र टाढा भएकाले मासपुर गाउँका ७१ वर्षीय जोख्या बुढा यसपालि भोट हाल्न जान सकिंदैन भन्ने सोचमा छन् । ‘हिँडडुल गर्न नसक्ने मलाई बोकेर मतदान केन्द्रसम्म लाने सम्भावना पनि देख्दिन’ जोख्याले भने ‘मतदान केन्द्र टाढा भएकोले २०७४ सालको चुनावमा पनि म भोट हाल्न गइनँ ।’

मासपुरमा गाउँमा जोख्या जस्तै ८२ वर्षीय आउसे रोकाया, ७३ वर्षका आखा दमाइ पनि भोट हाल्नबाट बञ्चित हुने अवस्था छ । मतदान केन्द्र टाढा भएकोले मासपुरका धेरैले मतदाताले परिचय पत्र पनि बनाएका छैनन् । ‘मतदान केन्द्र नै टाढा छ, बनाएर पनि के गर्नु,’ स्थानीय टेकबहादुर रोकायाले भने ।

जिल्ला निर्वाचन कार्यलय हुम्लाका नायव सुब्बा श्यामबहादुर रानाले यसपालि नयाँ मतदान केन्द्र थप्ने कुनै कार्यक्रम नभएकाले मतदान केन्द्र स्थापना गर्न नसकिएको बताए । ‘हुम्लामा सबैभन्दा टाढा रहेको मतदान केन्द्र हो यो, त्यसैले थप मतदान केन्द्र आवश्यक परेको चाहिं हो तर नयाँ मतदान केन्द्र थप्ने कुनै कार्यक्रम छैन,’ रानाले भने ।

हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले मासपुरबाट मतदान केन्द्र आउन १० घण्टाभन्दा बढी समय लाग्ने आफूले पनि थाहा पाएका बताइन् । ‘मतदान केन्द्र निकै टाढा रहेको व्यहोरा मन्त्रालय, निर्वाचन आयोगलगायत सम्बन्धित निकायमा जानकारी गराएका छौं, हाम्रो क्षेत्रबाट हुने पहल भइरहेको छ’ परियारले भनिन, ‘निर्वाचन आयोगले मतदान केन्द्र थपे जिल्लाबाट हुने सबै प्रक्रियामा कमी हुन दिइँदैन ।’ परियारले त्यहाँ मतदान केन्द्र स्थापना गर्ने नगर्ने केन्द्रमा (माथि) निर्भर रहेको बताइन् ।

निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अहिलेसम्म यसबारेमा कुनै जानकारी नआएको वताए ।

गतवर्ष मतदान केन्द्र परिवर्तन तथा नयाँ थप्नका लागि स्थानीय तह, सीडीओको अध्यक्षतामा रहेको जिल्लाका समितिबाट आएको सिफारीस अनुसार मतदान केन्द्र हेरफेर गरेका थियौं तर यो गाउँका बारेमा कुनै जानकारी नआएको अर्यालले वताए । उनले भने, ‘निर्वाचनको नजिक पुगिसकेकाले यसपालि अब सम्भव छैन, अर्को पटक मतदान केन्द्र स्थापना गर्न सकिन्छ ।’

२०७० सालको संविधानसभा चुनावदेखि यस गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले मत हाल्न सामाल (खाद्यान्न) बोकेर जानुपर्ने बाध्यता भएको भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने माग गरेका थिए । गाउँको राजनीतिक पहुँच कम भएकाले अहिलेसम्म कसैले आफ्नो आवाज नसुनेको स्थानीयवासीको गुनासो छ ।

गर्भवती र बुढापाकाहरू मात्रै होइन १० घण्टाभन्दा बढी हिँडेर पुग्ने ठाउँमा मतदान केन्द्र राखिएपछि गाउँका युवाहरू समेत पुग्न नसक्ने अवस्था देखिन्छ । त्यसैले सदरमुकाम सिमकोट बाट पाँच दिन पैदल लाग्ने यो गाउँमा मतदान केन्द्र राख्न निर्वाचन आयोगको तत्काल ध्यान जानु जरुरी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu