प्रदेश सरकारलाई टर्च लाइट बालेर खोज्नु पर्ने अवस्था आयो : शाक्य
मकवानपुर -बागमती प्रदेश सभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाइट बालेर खोज्नु पर्ने अवस्था आएको बताएकी छिन् । उनले शनिबार बसेको प्रदेशसभाको दसौँ अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै सरकार हराएकाले टर्च बालेर खोज्नु पर्ने बेला आएको बताइन् ।
उनले जनताले सरकारको महसुस समेत गर्न नसकेको बताइन् । नेतृ शाक्यले सरकारले जनताको जीवनलाई सहजता प्रदान गर्नु पर्ने भए पनि त्यस तर्फ काम गर्न नसकेको उनको भनाइ छ । विगत ५ वर्षको अवधिदेखि सरकारको बजेट र प्राथमिकताको विषयमा धेरै कुराहरू आए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको उनले भनिन् । उनले सरकारको कमजोरी हाम्रा वरपर भइरहेको अस्वाभाविक विकासको प्रणालीले प्रस्ट पारेको जिकिर गरिन् ।
‘जनताले सरकार भेटेका छैनन् । त्यसको प्रमाण काठमाडौँ–हेटौँडाको बाटोमा हेर्दा हुन्छ,’ उनले भनिन्, ‘प्रदेश सरकार टर्च बालेर खोज्नु पर्ने अवस्था आएको छ । विगत ५ वर्षमा सरकारले कति काम गर्यो त्यसको समीक्षा गर्नु पर्ने बताइन् ।