कपिलवस्तु नगरपालिकाले स्वास्थ्य बिमाको आधा रकम नगरले बेहोर्ने
कपिलवस्तु –
कपिलवस्तु नगरपालिका भित्र रहेका सबै घरधुरीमा बसोबास गर्ने परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम लैजाने निर्णय गरेको छ । नगर कार्यपालिको तौलिहवा स्थित आफनै कार्यालयमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । बिमामा लाग्ने शुल्कको आधा रकम नगर पालिकाले बेहोर्ने निर्णय भएको मेयर सुदीप पौडेलले बताउनुभयो । त्यसकालागि पहिलो चरणमा एक करोड बजेट विनियोजन गर्ने गरी कार्य अघि बढाइएको उहाँको भनाई छ ।
नगरपालिका भित्र साढे १२ हजार घरधुरीलाई पुग्ने गरी बजेट विनियोजनको प्रक्रिया अघि बढाइएको छ । फुसको छानोमुक्त अभियानलाई सार्थकता दिन नगरपालिकाको वडा नम्बर १०, ११ र १२ वडामा जस्ता पाता वितरण गर्ने, आगामी ५ वर्ष भित्र नगरपालिकालाई हिलोमुक्त बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
म्याद सकिएको विद्यालय व्यवस्थापन समिति असार भित्र गठन गर्ने र नगरे अनुदान रोक्का गर्ने, मावि सम्म निः शुल्क शिक्षा भन्ने राष्ट्रिय नीति अनुसार विद्यालयमा कुनै पनि शुल्क नउठाउने गरी व्यवस्थापन गर्ने, कक्षा ६, ७ र ८ कालागि तयार भएको स्थानीय पाठ्यक्रम स्वीकृति गरी यही आर्थिक वर्ष देखि सञ्चालन गर्ने निर्णय भएको छ ।