सङ्खुवासभामा पहिरोले पुरिएर दुई जनाको मृत्यु
सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडक खण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण कार्यमा खटिएका मजदुरको मृत्यु भएको हो ।
सुनसरी धरानका ३५ वर्षीय राम कुमार राई र चौदण्डी गढी नगरपालिका-६ उदयपुरका २० वर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटिएर पहिरोमा पुरिएका दुवै जनाको उद्धार गरी शव परीक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।