मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् ।
दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरुलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले अर्को पटकको तालिममा महिला प्रशिक्षार्थी पनि सहभागी गराउन सुझाव दिएका थिए । उनले सडक, भवन लगायतका संरचना निर्माण गर्दा सम्भावित विपदको जोखिमलाई पनि मध्यनजर गरेर तालिम दिनुपर्नेमा जोड दिए ।