Connect with us
Kapilvast Forest

स्वतन्‍त्रबाट देश चल्दैन – कांग्रेस र कम्युनिष्ट सुध्रिनुपर्

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका लगायत देशभरका साढे तीन सयभन्दा बढी स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। यसले वैकल्पिक राजनीतिमा स्वतन्त्रको आकर्षण बढाएको देखिन्छ। सङ्घीय चुनावको मिति घोषणा नहुँदै स्वतन्त्रले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन्। प्रमुख राजनीतिक दलप्रति मतदाताको असन्तुष्टि देखियो। मतदाताको स्वतन्त्र उम्मेदवारप्रति आकर्षण र वैकल्पिक राजनीतिको विषयमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेलले गरेको कुराकानी :

वैकल्पिक राजनीतिको लहरलाई यहाँले कसरी हेर्नुभएको छ ?

यो मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि लिएर जान सहयोगी सावित हुन्छ। स्वतन्त्रहरु अहिलेको नेपालको संविधान र अहिलेका पार्टीको विकल्प बन्न सक्दैनन्। विकल्पै बन्न गाह्रो छ। यस्तो संसारमै भएको छैन। उनीहरु पार्टीको विकल्प हुँदैनन् तर पार्टीलाई दबाब दिने र सुधारात्मक दिशातर्फ उन्मुख गर्ने एउटा शक्ति चाहिँ हुनसक्छन्।

लामो समयदेखि प्रसव वेदनामा रहेका साझा पार्टी, विवेकशील पार्टी, ती आए गए। तर, अहिले अचानक आएका स्वतन्त्रले स्थानीय तहको निर्वाचनमा ३५५ ठाउँमा जितेका छन्। त्यसमा पनि महत्वपूर्ण र चर्चामा आएका काठमाडौं, धरान र धनगढी हुन्। यसको आयाम पनि छुट्टाछुट्टै छ। कोही पार्टीसँग रिसाएर स्वतन्त्र भएका छन्। कोही स्वतन्त्रै रुपमा देशमा भइरहेका पार्टीले काम गर्न सकेनन् भनेर हुइम चलाएका छन्। नेपालको सहरी क्षेत्रमा सचेत मतदाता छन्। उनीहरुका लागि यो एउटा राजनीतिमा प्रवेश गर्ने नयाँ बाटो खुलेको छ। तर, समग्र देशको राजनीति स्वतन्त्रबाट चल्छ भन्ने कुरा मान्छेको बीचमा स्थापित भएको छैन। त्यो सम्भव छैन।

हरेक चुनावको मुखमा किन नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीको लहर चल्छ ?
राजनीतिलाई बुझ्ने मानिसका आ–आफ्नै तरिका छन्। एक सय वटा नयाँ व्यवसाय एकसाथ सुरु भए भने कम्तीमा पाँचवटा पनि बाँच्दैनन्। दुई वटा मुस्किलले बाँच्छ रे ! एउटा उत्साहले एउटा काम गर्छन्। चाहे उद्योगमा होस् वा राजनीतिमा। यो संसारमै देखिन्छ। हामी पनि स्वतन्त्र भएर देखाइदिन्छु भन्छन्। तर, हामी स्थापित पार्टीलाई चिया पसल, पत्रपत्रिका, विद्युतीय मिडियादेखि सामाजिक सञ्जालसम्म भरपुग गाली गर्छौं। तर, त्यो गालीको विकल्प मै हुँ भन्ने धेरैलाई लाग्छ। उनीहरुले पार्टी खोलेर अब ‘मै हुँ’ भनेर हतारहतार निर्वाचन आयोगमा दल दर्ता गर्छन्। उम्मेदवारी पनि दिन्छन्। चुनावमा जमानत जफत भएपछि ‘ए पार्टी खोल्न गाह्रो रहेछ’ भन्ने थाहा हुन्छ। पार्टी चलाउन झन् गाह्रो छ। चुनावमा जान झन् गाह्रो छ। त्यस्तो ठाउँमा सजिलो छ। जहाँ सचेत मतदाता हुन्छन्। राम्रो मध्यम वर्गीय समुदाय हुन्छ। पार्टीमा कार्यकर्ता होइन कि समर्थक र शुभेच्छुकको संख्या धेरै हुन्छ। पार्टी कार्यकर्ता त अहिले ‘स्लेभ’ नै भइसक्यो। पार्टी कार्यकर्ताले मुक्त भएको जनसंख्या अहिले काठमाडौंमा छ, धरानमा छ, पोखरामा छ। जो आफ्नै खाएर देश सुध्रियोस् भन्ने राजनीति गर्छ। तर, गाउँघरमा अझै पनि त्यस्तो छैन। गाउँघरमा स्वतन्त्रले जित्नु धेरै गाह्रो कुरा हो। पार्टीले त्यसरी समाजलाई च्यापेका र बाँधेका छन् कि स्वतन्त्र रुपमा उठ्छु भन्दा त्यसको पुरानो पृष्ठभूमि कांग्रेस कम्युनिष्ट छ भने फाट्टफुट्ट जितेको छ। त्यसले एउटा सङ्गठन पाउँछ। तर, साँच्चै बालेन तरिकाको स्वतन्त्रले त्यहाँ चुनाव जित्ने सम्भावना छैन।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व पत्रकार रवीन्द्र मिश्रलगायत असफल भइसकेको वैकल्पिक राजनीतिमा रवि लामिछानेको आगमनलाई कसरी हेर्नुभएको छ ?

आउँदा आउँदै म धेरै उत्साहित छैन। निराश पार्न पनि चाहन्नँ। जस्तो रवीन्द्र मिश्रजी पार्टी चलाउन सक्नुहुन्थ्यो होला। तर, उहाँले धेरै ‘रिग्रेसिभ’ एजेन्डा लिनुभयो। राजनीति र समाज विज्ञानमा जस्तोसुकै देश भए पनि त्यो केही न केही अगाडि बढ्न खोज्छ। समाज विज्ञान कहिल्यै पछाडि फर्किदैन। अब हामी छुवाछुत र जाति प्रथालाई मान्दैनौँ। व्यवहारमा माने पनि राजनीतिमा मान्न सक्दैनौँ। रवीन्द्र मिश्रले जुन एजेण्डा बोक्नुभयो ती चाहिँ पछाडि फर्किने एजेन्डा थिए। अब बाबुरामजीको विश्वसनीयतामा शंका भयो। उहाँ कहिले माओवादी, कहिले उपेन्द्र यादवसँग एकीकरण गर्नुभयो। अहिले फेरि आ–आफ्नै बाटो लाग्ने तयारी भइराखेका समाचार आएका छन्। अस्थिर राजनीति र अस्थिर नेतालाई विश्वास गर्न सकिँदैन। वामदेव गौतमको हालत पनि त्यही भएको हो। एमालेबाट फुटेर माले बनाउनुभयो। त्यो मान्छेले मन पराएनन्। ती पार्टी स्थापित हुन्छन् जसको पार्टी स्थिर हुन्छ, जसलाई अनुमान गर्न सकिन्छ। जस्तो कांग्रेस पार्टी तमाम कमीकमजोरी गर्छ। तर, यसको बारेमा एउटा अनुमान लगाउँछन्। जस्तो एमाले पार्टी अहिले किन दोस्रो बन्यो ? कांग्रेस किन पहिलो भयो। यिनको नीतिदेखि लिएर यो पार्टीले कति बिर्गाछ कति सपार्छ। आम मानिसले बुझेका छन्।

स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले काठमाडौं, धरानजस्ता महत्त्वपूर्ण सहरमा जितेकै कारण संघीय चुनावप्रति स्वतन्त्रहरुको आकर्षण बढेको हो ?
काठमाडौंजस्तो ठाउँमा झण्डै ७० हजार भोट ल्याएर जित्ने बालेन्द्र शाहको मैले नाम नसुनेको रहेछु। मैले नाम नसुनेर केही भएन। युवाहरुले सुनेका रहेछन्। युवामा आकर्षण रहेछ। मेरी छोरीले भन्थिन्, ‘हेर्नु न हामी यसपाली म्याजिक गछौँ।’ अब घरमै मेरो छोरीले म्याजिक गर्छौं भनेर बालेनको पछि लागेको कुरा मलाई थाहा थिएन। अहिले हाम्रो उमेरको मानिसलाई काठमाडौँ धरान, पोखराजस्तो सहरमा युवाबीच के कुदिरहेको छ, कफी हाउसमा बसेर, चिया पसलमा बसेर, साइबरमा बसेर के कुरा गर्दैछन् भन्ने कुरा नबुझ्ने अवस्था थियो। हिजो अस्तिसम्म राजनीतिलाई बुढाहरुले गर्ने हो भन्ने युवा जमात अहिले त्यतातर्फ आकर्षित भएको छ। अचानक बालेन आइपुग्दा चकित खाएका छन्। बाबुआमा कोही कांग्रेस थिए, कोही कम्युनिष्ट थिए। छोराछोरी नयाँनयाँ बाटोमा गएको देखेर बाबुआमा चकित छन्। युवा उत्साहित भएका छन्। यो राम्रो कुरा हो।

ठूलठूला हल्लाखल्ला गरेर स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिए पनि चुनाव किन पुरानै पार्टीका नेताले जित्छन् ?
स्वतन्त्रबाट जित्नका लागि तीन चारवटा कुरा अनिवार्य हुन्छ। म स्वतन्त्र हुँ भन्ने मान्छे व्यक्ति स्वतन्त्र भएर मात्र हुँदैन। उसको कुनै न कुनै क्षेत्रमा पहिचान हुनुपर्छ। कला, साहित्य, संगीत, चलचित्र निर्माता वा समाजसेवाबाट चिनिएको हुनुपर्छ। स्वतन्त्र भन्ने बित्तिकै धेरै मान्छे स्वतन्त्र छन्। ती सबै चुनावमा उठ्दैमा जित्दैनन्। उसको इतिहास समाजसँग जोडिएको हुनुपर्छ। समाजसँग जोडिएकोलाई सरकारसँग आशा हुन्छ। मध्यम वर्गीय समाजले सरकारसँग आशा गर्छ। गरिबले सरकारसँग आशै गर्दैन। धनीलाई पनि सरकार जरुरत नै छैन। सरकार बनाउने र बिगार्ने भनेको मध्यम वर्गले हो। जसलाई स्कुलको शुल्क बढ्दा, निजी अस्पतालले बढी शुल्क लिँदा, बाटो खाल्डाखुल्डी हुँदा, आफ्नो छोरा घरमा बेरोजगार हुँदा चिन्ता हुन्छ। त्यो मध्यम वर्गको जमात राम्रो छ भने काठमाडौंमा छ। जो सरकारबाट पनि आशा गर्छ। विदेशबाट पनि आशा गर्छ र आफू पनि केही उद्यम गरेर कमाइरहेको हुन्छ। स्वतन्त्रमार्फत् मध्यम वर्गले आफ्नो आक्रोश व्यक्त गर्छ। स्वतन्त्रमार्फत् उसले कांग्रेस र कम्युनिष्टलाई देखाइदिन्छु भन्छ। यो अहिलेको नेपाली कांग्रेसले हिजो प्रमुख जसलाई उठाएको थियो, वा नेकपा (एमाले) ले जसलाई उठाएको थियो। त्यहाँ स्वतन्त्रले जितेको कम हो। उत्पात आकर्षण होइन। कांग्रेस र कम्युनिष्टले दिएको उम्मेदवारको ‘रियाक्सन भोट’ (प्रतिक्रियात्मक मत) स्वतन्त्रलाई गएको हो। कांग्रेस र कम्युनिष्टले दिएको ३० वर्षको प्रस्तुतिले अहिलेका युवा प्रताडित छन्। काठमाडौंको परिणाम त्यसकै नतिजा हो।

नेपालको इतिहासलाई हेर्दा प्रमुख राजनीतिक दलको जन्म खासखास समयमा भएको छ। प्रमुख दलको विरासत भत्काउने तागत स्वतन्त्रको लहरले ल्याउन सक्ला जस्तो लाग्छ ?

यो स्वतन्त्रको उपयुक्त समय होइन। खासखास समयमा पार्टीको उदय भयो भन्नुभयो। काठमाडौंबाट कुनै पार्टीको उदय भएको छैन। विराटनगरको जुट मिलको आन्दोलनले नेपाली कांग्रेसको उदय भयो। नेकपा माले भन्ने पार्टी झापाको किसान विद्रोहबाट बन्यो। रुकुम र रोल्पाको विद्रोहको झिल्कोबाट माओवादी बन्यो। मधेशको आन्दोलनबाट मधेशवादी दल बने। स्वतन्त्र पार्टीलाई काठमाडौंको हावाले छोएको छ। यो पार्टी होइन ‘रियाक्सन’ हो। काठमाडौंमा बालेनले राम्रो काम गरे भने पार्टीहरु दबाबमा पर्छन्। यस्तैयस्तै स्वतन्त्र मिलेर पार्टी जन्मिन्छ। धनगढी, काठमाडौं, धरानका मेयर मिलेर यो त भएन लौरो लिएर कांग्रेस र कम्युनिष्टलाई ठीक पार्नुपर्छ भनेर आउन सक्छन्। संसारमा पार्टीको विकास यसरी नै भएको छ। सबै जनाले राष्ट्रियस्तरको एजेण्डा लिएर मात्र पार्टी बन्दैन। सरकार हामी ठीक ढङ्गले चलाउँछौँ भन्ने पनि पार्टी बन्नसक्छ। त्यो सम्भावना नेपालमा छ। वैकल्पिक पार्टीको सम्भावना नेपालमा सिद्धिएको छैन। त्यसको गर्भगृह बाबुराम भट्टराई, उज्ज्वल थापा, किशोर थापा, रञ्जु दर्शनाले राखे होलान्। यी व्यक्तित्वले आफ्नो काम गरेर गए। अब देख्नुहुन्न। उज्ज्वल थापा कोभिडको शिकार नै भए। अहिले कांग्रेस र कम्युनिष्टभन्दा यिनलाई सुधार गर्न हामीले नयाँ धार खोज्नुपर्छ भनेर युवाले राजनीतिमा हस्तक्षेप गरेका छन्। यो हस्तक्षेप काठमाडौंको मेयरमा मात्र सीमित हुने हो कि ? वा धरानको मेयरमा सीमित हुने हो या यसले एउटा राष्ट्रिय स्वरुप लिन्छ ? त्यो कुरा चाहिँ अहिले थाहा हुँदैन। अहिले बालेन लोकप्रिय बनेनन् भने सबै स्वतन्त्रको आगामी चुनावमा भागाभाग हुन्छ।

स्वतन्त्र उम्मेदवारी आज छ, भोलि छैन। बजारको ‘फेसन’ जस्तो मात्रै लाग्दैन ?
पार्टीको एउटा ‘फिलोसफी’ हुन्छ। एउटा झण्डा हुन्छ। एउटा चुनाव चिह्न हुन्छ। कार्यकर्ता हुन्छन्, अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ। जतिसुकै मन परे पनि नपरे पनि नेपाली कांग्रेसको सम्बन्ध भारत र अमेरिकासँग नजिकको छ। चीनसँग अलि तटस्थवादी छ। कम्युनिष्ट पार्टीको सम्बन्ध चीनसँग नजिकको होला। तर, यिनीहरुको एउटा ‘सिभिलाइजेसन’ हुन्छ। व्यक्ति आयाराम गयाराम भए पनि फरक पर्दैन। तर, अहिले किशोर थापा खोज्नुभयो भने पढाएर बसेका होलान्। रञ्जु दर्शना बिहे गरेर बसेकी छन्। उनीहरु फेरि राजनीतिमा आउन पनि सक्छन्, नआउन पनि सक्छन्। तर, बालेन आएका छन्। यो क्रम चल्नुपर्छ चलेकै छ। मूलधारका पार्टी जबसम्म राम्रो हुँदैनन्, यिनलाई मध्यमवर्गले मन पराउँदैनन् तबसम्म विकल्पको खोजी भइरहन्छ।

यहाँको विचारमा नेता भीडले जन्माउँछ कि विचारले ?
यो सामान्य बहस होइन, महान् विद्वान् बुद्धिजीवी यो बहसमा सहभागी भएका छन्। बट्रयान्ड रसेलदेखि महात्मा गान्धीसम्म र बिपी कोइरालादेखि माओत्सेतुङसम्मले यसमा बहस गरेका छन्। यसमा दुईवटा सिद्धान्त एकदम राम्रो छ। एउटा सिद्धान्त ब्रिटिसले प्रतिपादन गरेका छन्। उनीहरुले नेता चाहिँ साम्राज्यवादी सोचबाट जन्मिन्छ भन्छन्। गान्धीलाई भारतमा साउथ अफ्रिकाबाट ब्रिटिसले ल्याइदिए। नेता उनीहरुले जन्माइदिए। साम्राज्यवादीले नेता जन्माउँछ। यो एउटा माक्र्सवादी सिद्धान्त छ। माक्र्सवादीले नेता भूइँबाट जन्मिन्छ भन्छन्। अहिले आएको ‘सबल्र्टन’ले भीडलाई जसले सम्हाल्न सक्यो त्यो चाहिँ नेता हुन्छ भन्छ। भुइँ मान्छेबाट नेता जन्मिन्छ भन्छन्, जस्तो बालेन जन्मिए। भूइँ मान्छेको नेतालाई अहिले एउटै शब्दमा ‘सबल्र्टन’ भनिन्छ। भीडले नेता जन्माउँछ। युवालाई र्याप मनपर्यो। र्यापमार्फत् दिएको सन्देश मन पर्यो। अनि तिमी हामीलाई मात्र नेतृत्व किन गर्छौँ ? काठमाडौंलाई नै नेतृत्व गर। ५० लाख मान्छेलाई र्यापबाट काम गरेर देखाऊ भनेर भीडले छानेको नेता चाहिँ बालेन हुन्। भीडले नेता छान्छ कि विचारले भन्ने विषयमा हामीले घण्टौं होइन, वर्षौ बहस गरेका छौँ। अहिलेको स्थितिमा कयौं नेता विदेशीले जन्माइदिए। कयौं नेता यहाँका आन्दोलनले जन्मिन्छन्। कयौंलाई भीडले नेता बन भनेर कुर्सीमा राखिदिन्छ। यसलाई एउटै शब्दमा ‘सबल्र्टन’ भनिन्छ। यो प्रसिद्ध छ।

प्रमुख दलको भूमिका चित्त बुझ्दो भएन भन्ने जनअकाक्रोश एकातिर छ। तर, मतदान किन अर्कैतिर हुन्छ ?
एउटा भनाइ छ, ‘मेनो जति पढे पनि अन्तिममा मःम र चाउचाउमा नेपाली अड्किन्छन्।’ यो एउटा ठूलो विम्ब हो। मेनु पढ्दा हामी धेरै कुरा बुझ्दैनौँ। नेपालीले बुझेको भनेको मम र चाउमिन नै हो। नेपाली समाजले पार्टी सिस्टम छ भनेर बुझेको भनेको कांग्रेस र कम्युनिष्ट हो। त्यसको पछाडि एउटा इतिहास हुन्छ। कांग्रेस र कम्युनिष्टको परीक्षण भइसकेको छ। उनीहरु आवश्यक पर्दा आन्दोलन गर्न सक्छन्। आवश्यक पर्दा त्याग गर्न सक्छन्। जेल जान सक्छन्। सत्तामा जाँदा अलिकति लुट्न पनि सक्छन् वा ढाँट्न पनि सक्छन्। राजनीति भनेकै यही हो। गीतामा पनि यही छ। हामीले मानेका भगवान कृष्णले पनि गीतामा छलछाम गरेकै छन्। राजनीति धेरै सरल रेखामा हिँड्दैन। राजनीति भनेको यस्तै बक्र रेखामा हिँड्छ। अब हामीसँग राम्रो विकल्प भनेको कम्युनिष्टको विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिष्ट नै हुन्। स्वतन्त्र पनि केही क्षेत्रमा स्थापित गर्दैछन्। उनीहरुको पनि ७५३ ठाउँमा उम्मेदवार हुनुपर्यो, उनीहरुको एउटा झण्डा हुनुपर्यो, उनीहरुको एउटा ‘फिलोसफी’ हुनुपर्यो, उनीहरुको अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्ड हुनुपर्छ। कांग्रेस र कम्युनिष्ट पनि एकै दिनमा बनेका होइनन्। स्वतन्त्रले पार्टी नै बनाए पनि अरु पाँच, दस वर्ष धैर्यधारण गर्नसक्नुपर्छ। जसमा धैर्य छैन, त्यसले पार्टी बनाउन सक्दैन। त्यसले छोडेर हिँड्छ। यो सजिलो कुरा होइन। सजिलो हुने भए आजभन्दा ३०–३१ वर्ष अगाडि देवेन्द्रराज पाण्डेले पार्टी खोल्नुभयो। उहाँ छोडेर हिँड्नुभयो। पार्टी बनाउने कुरा गाह्रो छ। कांग्रेस र कम्युनिष्टलाई स्वतन्त्रले धक्का दिने कुरा सजिलो छ। यिनीहरुको दबाबबाट कांग्रेस र कम्युनिष्ट सुध्रिन्छन् कि अझ स्वतन्त्रलाई विस्तार गर्न मद्दत गर्छन् आगामी निर्वाचनले यो कुरा देखाउँछ।

कम्युनिष्ट पार्टीको फुटको फाइदा स्वतन्त्रले लिने सम्भावना कति देख्नु हुन्छ ?
कम्युनिष्टमा ठूलो निराशा आउनसक्छ। यो स्वाभाविक पनि हो। त्यो दुई तिहाइको सरकार, सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सरकार ! त्यहाँबाट स्वतन्त्र निस्कँदा निस्कँदै त्यो पृष्ठभूमिबाट एउटा पार्टीको फेरि जन्म हुनसक्छ। अहिले तत्काल ६ महिनामा नभए पनि आगामी पाँच वर्षभित्र एउटा राम्रो पार्टी वा विकल्प निस्कन्छ। नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लागेको छ। त्यसले नेपाली कांग्रेसलाई ठूलो फाइदा भएको छ। कांग्रेस आफू स्वास्थ्य भएर मोटाएको चाहिँ होइन कि यो सुन्निएर ठूलो भएको छ। तर, पनि जनमत आफ्नो ठाउँमा जनताले दिएकै छन्। त्यसले गर्दा कम्युनिष्टको फुटले नेपालमा अराजकता आउनसक्छ। युवा कम्युनिष्ट छन्, उनीहरु चाँडै स्वतन्त्रमा जाँदैनन्। एक पटक सडकमा निस्किन्छन्। एक पटक टायर पनि बल्नसक्छ। तर, कम्युनिष्ट नेताले एक ठाउँमा ल्याएर गोलबन्द गरेमा फेरि नयाँ ‘कोर्स’ सुरु हुन्छ। नेपाली कांग्रेस धेरै मेहनतिलो पार्टी होइन तर, धेरै भाग्यशाली र भाग्यमानी पार्टी हो। यसका नेता र ‘फिलोसफी’ले यसलाई जोगाएको छ। कांग्रेस हो, यसले प्रजातन्त्र मान्छ भन्ने बित्तिकै यसका मतदाता बढिहाल्छन्। यसको वैचारिक पक्ष सशक्त छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu